काठमाडौँ । पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गङ्गा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न नपाइने भएको छ ।
पशुपति आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गङ्गा आरतीको भिडिओ कपिराइट बुढासुब्बा डिजिटलले मासिक एक लाख ६० हजार रुपैयाँमा खरिद गरेको पाइएको छ । केही महिनाअघि पशुपति क्षेत्र विकास कोषसँग भएको सम्झौतामा बुढासुब्बाले यो रकममा कपिराइट लिएको पाइएको हो ।
कोषका सूचना अधिकारी रेवतीरमण अधिकारीले पशुपति क्षेत्रमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडिओको प्रतिलिपि अधिकार बुढासुब्बालाई बिक्री गरिएको बताए ।
बुढासुब्बा डिजिटलले एक सूचना जारी गर्दै गङ्गा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न नदिने जानकारी गराएको हो ।
यस्तै सो क्षेत्रमा खिचिएका भिडियो सामग्री फेसबुक, इन्ष्टाग्राम, टिकटक तथा युट्युबमा व्यावसायिक प्रायोजनका लागि राखिएमा डिजिटल कपिराईट ऐन अन्तर्गत कारबाही हुने जानकारी दिएको छ ।
प्रकाशित मिति: २० पुस २०८०, शुक्रबार
प्रतिक्रिया