रासस । सुन्दा अनौठो लाग्न सक्छ, दुई दशकअघि मह चाख्ने हुटहुटीकै कारण पोखरा महानगरपालिका ३१ बेगनासका सूर्यप्रसाद लामिछानेले थालेको व्यावसायिक मौरीपालन यतिखेर अन्यका लागि प्रेरक बनेको छ।

वि.सं २०६० मा रु तीन-तीन हजारमा दुईवटा मौरीका घारबाट सुरु गरेका उनीसँग अहिले भने तीन सय ५० मौरीका घार पुगिसकेका छन्। आफ्नो अनुहार भरी मौरीलाई राख्न सफल भई स्वदेश तथा विदेशमा चर्चा कमाएका लामिछानेसँग मौरीकै कारण नेदरल्यान्डसहित युरोपियन मुलुकमा भ्रमण गर्न पाएका मीठा अनुभव छन्। अनुहारभरि मौरीलाई राखेको उनको तस्बिर सन् २०१६ मा विभिन्न सञ्चारमाध्यममा स्थान पाएको थियो।

आफ्नो व्यावसायिकतामा उत्साह थप्न सञ्चारमाध्यमले ठूलो भूमिका निर्वाह गरेको बताउँदै लामिछानेले मौरीपालनको इच्छा र लगाव हुन सकेमा सामान्य रोजगारीका लागि विदेशिनु नपर्ने बताए। बेगनास मौरीघार उद्योगमार्फत मौरीपालन व्यवसाय गरिरहेका लामिछानेले उद्योग स्थापनाको २०औं वार्षिकोत्सव मह खाने प्रतियोगिताका साथ मनाउनुभएको छ।

प्रतियोगितामा १० जना सहभागी भएकोमा पोखरा महानगरपालिका २३ का जीवनाथ लामिछाने प्रथम भएका छन्। त्यस्तै द्वितीय पोखरा ३० खुदीका वसन्त पौडेल र तृतीय पोखरा २७ का विक्रम अधिकारी बने।

पोखरा ३१ की सृजना लामिछानेले महिला प्रतिस्पर्धीका रुपमा पुरस्कृत बनेका थिए। कूल तीन सय ग्राम महका लागि तीन मिनेटको समय छुुट्याइएकोमा प्रथम, द्वितीय र तृतीयले क्रमशः एक मिनेट ४८ सेकेन्ड, दुई  मिनेट आठ सेकेन्ड र दुई मिनेट ११ सेकेन्डमा मह खाएर विजयी भएका थिए।

विजयीलाई महानगरको वडा नंं. ३० का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदी, ३१ का वडाध्यक्ष ढकनाथ कँडेल र मौरीपालक कृषक सूर्यप्रसादले संयुक्तरुपमा मह प्रदान गरी पुरस्कृत गरेका थिए। प्रथम हुनेलाई एक किलोग्राम महसहित एक फ्रेम चाकासहितको मह, द्वितीय हुनेलाई एक किलोग्राम मह र तृतीय हुनेलाई आधा किलोग्राम मह प्रदान गरिएको थियो।

नेपालमा विभिन्न किसिमका प्रतियोगिता हुने गरेका सन्दर्भमा आफूले गण्डकीमा नै पहिलोपटक यस्तो प्रतियोगिता राखेको  जनाउँदै उनले यसलाई भाइबन्धु तथा साथीभाइलाई मह चखाउने अवसरका रुपमा समेत लिएको बताए।

उद्योगमा महको माग अत्यधिक रहेको बताउँदै उनले प्रतिकिलोग्राम रु एक हजार पाँच सयको दरले बिक्री वितरण भइरहेको जानकारी दिए। वार्षिक करिब एक हजार पाँच सय किलोग्राम मह उद्योगबाट उत्पादन भई बिक्री भइरहेको बताउँदै उनले अन्य विभिन्न फार्मबाट समेत थप एक हजार पाँच सय किलोग्राम मह खरिद गरी बिक्री गर्ने गरिएको जानकारी दिए। महबाटै परिवारको पालनपोषण, पठनपाठनका साथै पाँच जनालाई प्रत्यक्ष रोजगारी दिन सकेको उनले बताए।

प्रकाशित मिति: ८ माघ २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com