काठमाडौँ । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय प्रमुख गोगनबहादुर हमालमाथि प्रहरीले हातपात गरेको छ । अध्यागमनका कर्मचारीमाथि प्रहरीले हातपात गरेको विषयमा बुझ्न गएका हमालमाथि नै प्रहरीले हातपात गरेको हो ।
अध्यागमन अधिकृत छायालाल मोक्तानमाथि भएको कुटपिटको विषयमा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले गृह मन्त्रालय र अध्यागमन विभागलाई जानकारी गराएको छ । अध्यागमन कार्यालयले अध्यागमन विभागका महानिर्देशकलाई पत्र लेख्दै घटनाबारे जानकारी गराएको हो । उक्त पत्र गृह सचिवलाई बोधार्थ गरिएको छ ।
अध्यागमनमा कार्यरत कर्मचारीमाथि शुक्रवार बिहान करिब १२ बजेको समयमा प्रस्थान कक्ष तर्फको ड्युटी सकाई एयरपोर्टको डी क्षेत्रको बाटो हुँदै आगमन कक्षतर्फ जाँदै गर्दा चेकजाँच गर्ने स्थानमा खटिएका प्रहरी जवान रविरञ्जन गुप्ताले अश्लील शब्दहरू प्रयोग गरेको र असई सञ्जय तामाङ लगायतका करिब ४-५ जना प्रहरी कर्मचारीहरूले लछारपछार गरी निर्घात कुटपिट गरेको कार्यालयले जनाएको छ । कुटपिटका कारण उनको शरीरमा चोटपटक/नीलडाम समेत लागेको छ ।
प्रकाशित मिति: १२ माघ २०८०, शुक्रबार
प्रतिक्रिया