काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह (बालेन्द्र) ले न्युरोड क्षेत्रमा पार्किङ हटाएकोमा महानगरपालिकाको २२ नम्बर वडा कार्यालयले गम्भीर आपत्ति जनाएको छ। न्यूरोड क्षेत्र २२ नम्बर वडा कार्यालय भित्र पर्छ।
वडा कार्यालयका अध्यक्ष चिनीकाजी महर्जनले बिहीबार पत्रकार सम्मेलन गरी न्युरोडमा पार्किङ हटाउने निर्णय फिर्ता गरी न्युरोड क्षेत्र भित्रै कुनै निश्चित र सीमित ठाउँमा निःशुल्क पार्किङको व्यवस्था गर्न मेयरसँग माग राखेका छन्।
वडा कार्यालयसँग समन्वय नै नगरी मेयर शाहले न्यूरोड क्षेत्रमा पार्किङ हटाउने निर्णय गरेको भन्दै महर्जनले भने, ‘पार्किङमा भएको विकृतिलाई सच्चाउनु पर्थ्यो। तर पार्किङ नै बन्द गर्ने निर्णय ठिक भएन।’
वडा अध्यक्ष महर्जनले न्युरोडमा पार्किङको व्यवस्था माग गर्दै स्थानीवासीले सुरु गरेको आन्दोलनलाई आफूहरूको पूर्ण समर्थन रहेको बताए। उनले भने, ‘मेयरसाबले हाम्रो कुरा सुन्नु हुन्न।
आफूलाई जे लाग्छ। त्यही निर्णय गर्नुहुन्छ। यो पद्धति ठिक होइन।’
न्युरोडमा पार्किङ हटाउँदा यसले समस्याको समाधान नभई झनै समस्या बढाएको उनको भनाइ छ। ‘न्युरोडमा पार्किङ हटाउँदा झन् उल्टै समस्या भएको छ। अहिले गल्ली गल्लीमा मोटरसाइकल पार्किङ गर्ने गरिएको छ।’
न्युरोडमा पार्किङ हटाउन बजार व्यासायमा पनि चर्को प्रभाव परेको उनको भनाइ छ।
- नागरिक दैनिक
प्रकाशित मिति: २५ माघ २०८०, बिहिबार
प्रतिक्रिया