कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका-१ सुरही पुल नजिकै आज बिहान भएको बस दुर्घटनामा मृत्यु भएका दश जनाको पहिचान खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक हरि वलीका अनुसार सनाखत भएका मृतकमा रौतहट औराही ३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, नेपाली सेना ,कालीजङ्ग गण गोरुसिङ्गेमा कार्यरत सल्यानका अर्जुनकुमार योगी र भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमान, कञ्चनपुरको भिमदत्त नगरपालिका १ का २७ वर्षीय राहुलराम कामी, भीमदत्त-४ का २४ वर्षीय उमेश भण्डारी, भीमदत्त-१६ का सञ्जु थापा, पुनरवास नगरपालिकाका किन भट्ट रहेका छन् । यसैगरी त्यस्तै भीमदत्त नगरपालिका निवासी खगेश्वरी खाती, भीमदत्त-२ का सुदीप भट्ट र पुनरवास-९ का बिसफाटा विमलादेवी भट्टको पहिचान खुलेको छ ।
महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सु-प-प्र-०२-००१ ख ००९८ नम्बरको सडकबाट दुई सय मिटर तल खसेको थियो । कार्यालयका प्रहरी निरीक्षक नवरत्न पौडेलका अनुसार दुर्घटनामा ३० जना घाइते भएका ती मध्ये नौ जनालाई बुटवल ‘रिफर’ गरिएको छ । अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक पौडेलले बताए ।
प्रकाशित मिति: ३ फाल्गुन २०८०, बिहिबार
प्रतिक्रिया