काठमाडौँ । राजनीतिक नेतृत्व गर्नेहरूमा सिस्टम हैन, मैले भनेको मान्नुपर्छ’ भन्ने अहमका कारण प्रहरीमा आईजीपी हटाउने र नयाँ ल्याउने प्रयास पटक-पटक हुँदै आएको छ। प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त कुँवरलाई हटाउन खोजेको प्रचार भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यसबारे सार्वजनिक रूपमै बोल्न बाध्य भएका छन्। असार ३ गते चितवनमा प्रचण्डले भने, ‘नेपाल प्रहरीमा आईजीपी परिवर्तन हुँदैन, त्यो हल्ला मात्रै हो ।’

गृह मन्त्रालयको नेतृत्व गरेका रवि लामिछानेले आईजीपी हटाएर आफू अनुकूललाई ल्याउने असफल प्रयास गरेका छन्। फागुन २३ मा उपप्रधान एवं गृहमन्त्री नियुक्त भएका रवि लामिछानेले सुरुमै बसन्त कुँवरलाई हटाउने प्रयास गरेका थिए । तर, उनी सफल भएनन् ।

पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले चैत १ मा बुझाएको प्रतिवेदनलाई आधार मानेर लामिछानेले कुँवरलाई राष्ट्रिय सुरक्षा परिषद्मा सरुवा गर्ने प्रयास गरे । लामिछानेको तर्क थियो, ‘सुन तस्करी अनुसन्धानमा किरण बज्राचार्यले कुँवरको निर्देशनमा काम गरेको हुनाले उनलाई नेतृत्वमा राख्न सकिँदैन ।’

पछिल्लो समय कैलाश सिरोहियालाई पक्राउ गर्दा आईजीपी र गृहमन्त्रीबिच मनमुटाब भएको गृहका उच्च अधिकारीहरू बताउँछन् ।

नयाँ आईजीपी बनाउने प्रयासबारे आईजीपी कुँवर जानकार थिए । गत चैतमा भएको सो प्रयास श्याम ज्ञवालीलाई सीआईबीमा सरुवा गरेपछि रोकिएको जानकारहरू बताउँछन् ।

पछिल्लो समय कैलाश सिरोहियालाई पक्राउ गर्दा आईजीपी र गृहमन्त्रीबिच मनमुटाब भएको गृहका उच्च अधिकारीहरू बताउँछन् । जेठ ८ मा सुरक्षा गोष्ठीमा सहभागी हुन हेटौँडा जाँदै गरेका आईजीपी कुँवरले थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालयमा सीआईबीको टोली परिचालन भएको थाहा पाएसँगै फिर्ता हुन आदेश गरे । कुँवरको भनाइ थियो, ‘प्रधानमन्त्रीसँग सल्लाह गर्नुपर्छ ।’
सीआईबीको टोली आईजीपीले फिर्ता गरेको रिपोर्ट पाएपछि लामिछाने प्रधानमन्त्रीलाई भेटेर कुरा गरे । अनि, उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईलाई सिरोहिया पक्राउ गर्न पठाए ।

गृहमन्त्री लामिछाने आईजीपी कुँवरलाई हटाएर श्यामलाल ज्ञवालीलाई ल्याउन चाहन्छन् । तर, एमाले अध्यक्ष केपी ओली र प्रधानमन्त्री ‘प्रचण्ड’ले नमानेपछि उनको त्यो प्रयास रोकिएको छ । गत चैतमा लामिछानेको आग्रहमा ओलीले ज्ञवालीसँग सिंहदरबारस्थित एमालेको संसदीय दलको कार्यालयमा भेटेका थिए।

त्यसबेला सुन आयोगले प्रतिवेदन बुझाएको तर किरण बज्राचार्य सीआईबीबाट सरुवा नभएको अवस्था थियो । भेटमा ओलीले नेतृत्व दिने कुरा असम्भव भएको तर, ‘सीआईबी हुन्छ’ भनेर फिर्ता पठाएको जानकारहरू बताउँछन्।

५६ वर्षे उमेर हदका कारण एआईजी ज्ञवाली भदौ २६ मा अनिवार्य अवकाशमा जानेछन् । त्यसअघि आईजीपी बनेमा उनले चैतसम्म नेतृत्व गर्न पाउँछन् ।

अहिले ज्ञवाली सीआईबीको प्रमुख छन् । प्रधानमन्त्री प्रचण्डले प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई बोलाएर ‘ढुक्कले काम गर्नुस्’ भनेर पठाएको सार्वजनिक रूपमै बताइसकेका छन् ।

प्रकाशित मिति: ५ असार २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com