काठमाडौं । उपप्रधान तथा गृहमन्त्रीका रुपमा रास्वपा सभापति रवि लामिछानेको दोस्रो कार्यकाल पनि प्रतिफलमुलक रहेन । खल्तीमा राजीनामा बोकेर हिँडिरहेको बताउने उनी र रास्वपाका मन्त्री अझै पनि प्रचण्डकै खल्तीको राजीनामापत्र कतिखेर बाहिर निक्लेला भनी कुर्दैछन् ।
गृहमन्त्रीमा रविको यो दोस्रो इनिङ हो । यसअघि जम्माजम्मी ३२ दिन गृहको नेतृत्व सम्हालेका रविले यस पटक हनिमुन पिरियड (१०० दिन) को अवधि त मज्जैले कटाए, तर त्यसको उपादेयता सिद्ध गर्न भने सकेनन् ।
चार महिना गृहमा बसेका रवि सहकारी अपचलन मुद्दामा आफैं आरोपित व्यक्ति हुँदाहुँदै स्वार्थ बाझिने मन्त्रालय खान गएको भन्दै प्रश्नको घेरामा परे । गृहमा बसेका बेला भएका प्रहरी सरुवा बढुवादेखि अन्य निर्णयहरू पनि विवादित बने । राम्रो नगरे पनि नराम्रो नगर्ने बताएका रविका केही निर्णय यतिसम्म विवादित बने कि वहालवाला प्रहरी अधिकारीहरूले समेत बार्गेनिङसम्मको आरोप लगाए ।
सहकारी ठगी प्रकरणमा फरार रहेका जीबी राईलाई पक्राउ गरेर ल्याउने भन्दै मलेसियाको गृहमन्त्रीसँग पटक–पटक कुराकानी गरेको दाबी गरेका रविले जीबीलाई ल्याउन सकेनन् । आफ्नै साझेदार रहेकाले जीबीलाई रविले पक्राउ नगरेको भन्दै प्रमुख प्रतिपक्ष कांग्रेसले चर्को आलोचना समेत गर्यो ।
रविको करिब चार महिनाको कार्यकालमा भएका सरुवा बढुवा पनि विवादरहित बन्न सकेनन् । रविले जिम्मेवारी सम्हालेपछि १४ चैतमा डीएसपीबाट एसपी बढुवा गर्दा पहिलो नम्बरकै प्रदीप क्षेत्री बढुवामा छुटेका थिए । पहिलो नम्बरका क्षेत्रीलाई छुटाएर केपी शर्मा ओलीका पूर्व पीएसओद्वय सन्तोष तामाङ र राजन लिम्बू, पुष्पकमल दाहाल प्रचण्डका पूर्वपीएसओ विनोद घिमिरेलाई बढुवा गरिएको थियो ।
पहिलो नम्बरका क्षेत्रीलाई नै छुटाएको भन्दै लामिछानेको त्यतिबेला आलोचना भएको थियो । त्यसपछि १८ जेठमा एसपीबाट एसएसपीमा गरिएको बढुवा पनि विवादित बन्न पुग्यो ।
आफू निकटका डीआईजी पोषराज पोखरेललाई भने रविकै निर्देशनमा दुई दिनका लागि एआईजी बनाउने गरी बढुवा सिफारिस गरिएको थियो । यहीबीचमा सत्ता गठबन्धनमा फेरबदल आएपछि पोखरेल डीआईजीबाटै २१ असारमा अवकाशमा गए ।
त्यसो त उल्लेख्य उपलब्धि हासिल गर्न नसकेको स्वयम् लामिछाने समेतले स्वीकारेका छन् । गृहको जिम्मेवारी सम्हालेको १०० दिन पूरा भएको अवसरमा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भनेका थिए– ‘उल्लेख्य उपलब्धि हासिल गर्न नसके पनि आधार भने तय गरिएको छ ।’
प्रकाशित मिति: २८ असार २०८१, बिहिबार
प्रतिक्रिया