काठमाडौं । लेबननमा युद्ध चर्किरहेका बेला संयुक्त राष्ट्रसङ्घबाट त्यहाँ खटिएका नेपाली शान्ति सैनिकहरू “हालसम्म सुरक्षित रहेको” नेपाली सेनाले जनाएको छ।

हिजबुल्लाहविरुद्ध इजरेलले लेबननको भूमिमा गरिरहेको हवाई तथा स्थल आक्रमणका क्रममा केही शान्ति सैनिकहरू घाइते भइसकेका छन्।

शान्ति सैनिकहरू घाइते भएको विवरण आएसँगै त्यहाँ रहेको नेपाली फौजबारे पनि सामाजिक सञ्जालमा धेरैले चासो र चिन्ता व्यक्त गरिरहेका छन्।

लेबननस्थित संयुक्त राष्ट्रसङ्घीय अन्तरिम सुरक्षा फौज अर्थात् यूनिफिलमा योगदान गर्ने ३४ वटा देशहरूले शान्ति सैनिकहरूमाथि भएको आक्रमणको निन्दा गरेका छन्।

इजरेल र हिजबुल्लाबीच लेबननमा लडाइँ जारी छ र इजरेली फौजले दक्षिणी लेबननमा स्थल ‘कारबाही’ पनि गरिरहेको जनाएको छ।
इजरेल डिफेन्स फोर्सेस (आईडीएफ)को ट्याङ्कबाट प्रहार भएको गोलाबाट गत बिहीवार दक्षिणी लेबननमा दुई जना इन्डोनेसियाली शान्ति सैनिकहरू घाइते भएका थिए।

शुक्रवार नकुरा भन्ने स्थानमा दुई श्रीलङ्काली सैनिकहरू घाइते हुने गरी भएको अर्को घटनाको पनि आईडीएफले जिम्मेवारी लिँदै अनुसन्धान गर्ने प्रतिबद्धता जनाएको थियो।

शुक्रवारकै अर्को घटनामा फेरि दक्षिण लेबननमा गोली लागेर थप एक शान्ति सैनिक घाइते भएको संयुक्त राष्ट्रसङ्घले शनिवार जनाएको थियो।

लेबननमा खटिएको संयुक्त राष्ट्रसङ्घको अन्तरिम बल (यूनिफिल)ले आफ्ना शान्ति सैनिकहरू घाइते हुनुका साथै शान्ति सैनिकहरू रहेका शिविरहरूमा आईडीएफले हस्तक्षेप गर्ने गरेको विवरण सार्वजनिक गरिरहेको छ।

इजरेलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले संयुक्त राष्ट्र सङ्घलाई दक्षिणी लेबननमा रहेको शान्ति सेना ‘तत्काल’ त्यहाँबाट फिर्ता गर्न आग्रह गरेका थिए।

तर संयुक्त राष्ट्र सङ्घीय शान्ति सेनाका प्रमुखले त्यसलाई अवज्ञा गर्ने बताएका छन् र शान्ति सेना सैनिकहरूलाई यथास्थानमा बस्न निर्देशन दिएका छन्।

नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीका अनुसार लेबननमा रहेका नेपाली शान्ति सैनिकहरू अहिले ‘तेस्रो तहको सुरक्षा मापदण्ड’मा बसिरहेका छन्।

“तेस्रो तहको सुरक्षा मापदण्ड भनेको आफ्नो बङ्करमै बस्नुपर्ने अवस्था हो,” उनले भने, “अहिले त्यहाँ सोही मापदण्ड लागु गरिएको छ र हाम्रा सैनिकहरू पनि सोही अनुसार बसिरहेका छन्।”
उनका अनुसार इजरेल-हिजबुल्लाह तनावका कारण हालसम्म नेपाली शान्ति सैनिकहरूमाथि कुनै पनि प्रकारको आक्रमण भएको अवस्था छैन।

यद्यपि अहिले नेपाली शान्ति सैनिकहरू पनि बाहिर निस्केर हिड्ने वा गस्ती गर्ने अवस्था नरहेको उनले बताए।

“त्यहाँ परिस्थिति संवेदनशील छ तर हाम्रा सबै सैनिकहरू सुरक्षित अवस्थामा छन् र हाम्रो राष्ट्र सङ्घ हेर्ने शाखाले उनीहरूसँग नियमित सम्पर्क गरिरहेको छ,” उनले भने।

प्रकाशित मिति: २९ आश्विन २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com