काठमाडौं । सहकारी ठगी र संगठित अपराधमा पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाले) ले ‘सरकारले प्रतिशोध साँधेको’ रुपमा व्याख्या गरेको छ ।

रविलाई शुक्रबार साँझ काठमाडौंस्थित रास्वपा पार्टी कार्यालयबाट पक्राउ गरेर शुक्रबार राति नै पोखरा पुर्‍याइएको छ । अहिले उनी स्वास्थ्य परीक्षणपछि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।

यता रास्वपाले भने सभापति रवि पक्राउ पर्नुलाई प्रतिशोध साँधेको रूपमा व्याख्या गर्दै देशभर विरोध प्रदर्शनको आह्वान गरेको छ ।

रास्वपाले आज देशका मुख्य शहरहरूमा प्रदर्शन गर्दैछ । काठमाडौं, पोखरा, इटहरीलगायतका शहरहरूमा रास्वपा नेता तथा कार्यकर्ताहरुले प्रदर्शन गर्दैछन् ।

संयमता गुमाउँदै रास्वपा

सहकारीको रकम अपचलनसम्बन्धी छानबिन गर्न गठित विशेष संसदीय समितिको सिफारिसअनुसार रवि पनि पक्राउ परेका हुन्।

सूर्य थापा नेतृत्वको समितिको प्रतिवेदनमा रवि व्यक्तिगत रूपमा दोषी नदेखिएको तर संस्थागत रूपमा सहकारीको रकम अपचलन गर्ने सन्दर्भमा उनको संलग्नता देखिएको उल्लेख छ ।

उक्त समितिमा पूर्वमन्त्रीसमेत रहेका रास्वपा सांसद शिशिर खनाल समेत सदस्य थिए । उनले पनि उल्लिखत बेहोराको प्रतिवेदनमा हस्ताक्षर गरेका छन् । त्यहीअनुसार अहिले रवि पक्राउ परेका हुन् । तर, रास्वपा भने विरोध प्रदर्शनतिर लागेको छ ।

केहिदिन अघिसम्म रास्वपाले प्रक्रियाअनुसार नभए मात्रै प्रतिरोध गर्ने बताउँदै आएको थियो तर, अहिले आएर प्रक्रियाअनुसार नै रवि पक्राउ गरिए पनि रास्वपा प्रतिरोधतिरै लागेको छ ।

रवि प्रक्रियाअनुसार नै पक्राउ परेका छन् । सुरुमा उनीमाथि अनुसन्धान गर्न विशेष संसदीय समितिले सिफारिस गर्‍यो । यसपछि सम्बन्धित अदालत, जिल्ला अदालत कास्कीले पक्राउ पुर्जी जारी गर्‍यो । यसपछि उनी पक्राउ परे ।

तर, रास्वपाले भने सरकारले प्रतिशोध साँधेको भन्ने निहुँ पाएको छ । यसबेला रास्वपा संयमित भएर आफ्नो कदम चल्नुपर्ने हो तर तातो झोकमा रास्वपाले देशभर विरोध प्रदर्शनको आह्वान गरेको छ ।

यता, रास्वपाका दोस्रो तहका नेतादेखि शुभेच्छुकसम्म नै रविलाई पक्राउ गर्नु गलत भन्दै उफ्रिरहेका छन् । जबकि सन्दर्भ प्रक्रियामा गइसकेको छ । अब जे हुने हो प्रक्रियाअनुरूप नै हुन्छ । उनी थप दोषी देखिए कारागार जानेछन्, अन्यथा उनी बाहिरिनेछन् । तर प्रक्रियामा गइसकेको सन्दर्भविरुद्ध रास्वपा आफ्ना नेता, कार्यकर्ता र शुभेच्छुकहरूलाई सडकमा उतारीरहेको छ ।

 

प्रकाशित मिति: ३ कार्तिक २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com