म मान्छे हुँ भनेर तिमीलाई कुन युगसम्म भनिरहनु पर्ने हो ? तिमीले स्वीकार नगरे पनि स्वीकार गर्न बाध्य पार्न मन छ मलाई तिमीले हेपेको तिमीले चेपेको युगौ युग बितिसकेको छ अब न हेप्न पाउँछौं अब न चेप्न पाउँछौं किनकि म क्रान्ति गर्दैछु । तिमीले बनाएका मान्छे मान्छेबिचका सिमानाहरू र ती सिमानाका खम्बाहरू भत्काउन मन छ । जब-जब जातको नाउको विभेद गरिन्छ सहनै नसक्ने अपहेलना गरिन्छ तब-तब मलाई क्रान्ति गर्न मन लाग्छ । तिमीले बनाएको जात व्यवस्थाको पर्खालको विरुद्धमा क्रान्ति गर्न मन लाग्छ । तिमीले वर्षौंदेखि म माथि गरेको कुशासनको विरुद्धमा क्रान्ति गर्न मन लाग्छ । मैले अथक प्रयास गरेर बनाइदिएको घरभित्र छिर्न नपाउदा छियाछिया हुन्छु म मेरो सीप मेरो कलाको अपमान हुँदा मनभित्र विद्रोहको भाव जन्मिन्छ अनि क्रान्ति गर्न मन लाग्छ मैले बनाएको मन्दिर मैले बनाएको मूर्ति मलाई छाम्न र पुज्न बन्देज लगाइन्छ लाग्छ यी अन्धा कानूनका दफा र उपदफाहरु बनाउने सामन्तीहरुलाई सिध्याइ दिउँजस्तो जब-जब जातको नाउँमा यहाँ प्रेम मारिन्छ नवराजहरु मारिन्छन् सेते दमाईहरु मारिन्छन् अजित मिजारहरु मारिन्छन् तब-तब मलाई क्रान्ति गर्न मन लाग्छ यो युगमा आउदा पनि मेरो आत्मसम्मान भएको छैन मलाई स्विकार्न तयार छैन यो समाज जबसम्म यो समाजको आँखाले छुत र अछुत नदेख्ने हुँदैन तबसम्म म क्रान्ति गरिरहनेछु म लडिरहनेछु ।
विक्रम तिरुवा ‘सलिन‘/जुम्ला
प्रकाशित मिति: ५ कार्तिक २०८१, सोमबार
प्रतिक्रिया