काठमाडौं । तोहुरा खातुनको ह्याट्रिकसँगै बंगलादेश लगातार दोस्रोपल्ट साफ च्याम्पियनसिप २०२४ को फाइनलमा प्रवेश गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनलमा भुटानमाथि ७-१ को फराकिलो जित निकाल्दै बंगलादेश उपाधिनजिक पुगेको हो।

अघिल्लो संस्करणको सेमिफाइनलमा पनि बंगलादेशले भुटानलाई नै पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। त्यो बेला बंगलादेशले ८-० को फराकिलो जित निकालेको थियो। दुई संस्करणको सेमिफाइनलमा मात्रै भुटानले बंगलादेशसँग १५ गोल खायो। त्यसमा एक गोल मात्रै फर्काउन सफल बन्यो।

बंगलादेशकी तोहुरा खातुनले ह्याट्रिक गरिन्। साविना खातुनले दुई गोल गर्दा ऋतु पोर्ना चक्मा र सेउली अजिम नाममा रह्यो। भुटानकी डेकी लाजोमले एक गोल फर्काइन्।

बंगलादेशले सातौं मिनेटमै सुरुआती अग्रता लियो। फरवार्ड तोहुराको पासमा रितुले बक्स नजिकैबाट गरेको लेफ्ट फुटेड प्रहार गोलमा परिणत भएको थियो। त्यसको पाँच मिनेटपछि बंगलादेशले अग्रता दोब्बर बनायो। रक्षक सेउली अजिमको पासलाई तोहुराले गोलमा परिणत गरेकी थिइन्। उनको लेफ्ट फुटेड फितलो प्रहारलाई संगीता मोङ्गरले बचाउन सकिनन्।

२४औं मिनेटमा भुटानले सुनौलो अवसरमा गोल गर्न सकेन। मिडफिल्डर डेकी याङ्दोनको थ्रु पासमा फरवार्ड नाङ्गेलको प्रहारलाई बंगलादेशकी गोलकिपर रुप्ना चक्माले सहजै नियन्त्रणमा लिइन्।

लगत्तै सवीनाले नै बंगलादेशको अग्रतालाई ३-० मा पुर्‍याइन्। उनले राइट साइडबाट मोनिका चक्माले प्रदान गरेको क्रसलाई सदुपयोग गर्दै वान टचमा गोल गरिन् ।

३५औं मिनेट तोहुराले विपक्षी रक्षक सुकमाया घलेलाई छक्याउँदै चलाखीपूर्ण ढंगबाट अर्को गोल थपिन्। त्यसको दुई मिनेटपछि नै सवीनाको दोस्रो गोलमा बंगलादेशले पाँच गोलको अग्रता लियो। सवीनाले यसपाली वान भर्सेस वानमा भुटानी गोलकिपर संगीतालाई बिट गरिन्।

४१औं मिनेटमा डेकी लाजोमले भुटानका लागि एक गोल फर्काइन्। ५८औं मिनेटमा तोहुराले ह्याट्रिक पूरा गरिन्। मसुरा प्रविनले निकाल्दिएको पासमा उनले अफ साइड बिट गर्दै बललाई जाली चुमाइन्।

७३औं मिनेटमा सेउलीले बंगलादेशको अग्रता ७-१ मा पुर्‍याइन्। सन्जिदा अख्तरको कर्नरमा आएको बललाई उनले हेडरमार्पत गोल गरेकी हुन्।

प्रकाशित मिति: ११ कार्तिक २०८१, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com