काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हुम्लाको सर्केगाड गाउँपालिकामा उपाध्यक्ष पदका उम्मेदवार सुजता थापालाई अपहरण गरिएको भन्दै निर्वाचन आयोगमा उजुरी दिएपछि घटना रोचक मोडमा पुगेको छ।

उजुरीपछि प्रहरीले खोजी थालेको थियो । तर थापा आफ्नै घरमा श्रीमानसँग भेटिएकी छन्। उम्मेदवारी दर्ताको समयसीमा सकिन लाग्दा पनि उनले उम्मेदवारी दिन कुनै तयारी गरेकी छैनन्। उम्मेदवारी दिने सम्भावना कम देखिन्छ।

रास्वपाले थापालाई ४०–४५ जनाको समूहले अपहरण शैलीमा घरबाट लगेको दाबी गरेको थियो। पार्टीले सुरक्षा अभावका कारण थापाले उम्मेदवारी दिन नसकेको उल्लेख गर्दै कांग्रेसलाई दोष लगाएको थियो।

पार्टीका कार्यबहाक महामन्त्री कवीन्द्र बुर्लाकोटीले निर्वाचन आयोगमा उजुरी दिएका थिए। उजुरीपछि सक्रिय भएको प्रहरीले थापासँग सम्पर्क गर्दा उनी घरमै सुरक्षित रहेको पुष्टि भयो।

जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी रवीन्द्र खनालले थापासँगको कुराकानीमा अपहरण भएको घटना अस्वीकार गरिएको जानकारी दिए। प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले पनि अपहरणको कुनै प्रमाण नभएको बताए।

सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो। यसअघि निर्वाचित उपाध्यक्ष चन्द्र सिंह कार्कीको सवारी दुर्घटनामा मृत्यु भएपछि यो पद रिक्त भएको थियो। रास्वपाले थापालाई उम्मेदवार बनाए पनि उनले उम्मेदवारी दिन चाहेको संकेत देखिएको छैन।

 

प्रकाशित मिति: २ मंसिर २०८१, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com