-विशेष रिपोर्ट


काठमाडौं – सिङ्गो देशको अर्थतन्त्रलाई मार्ग निर्देशन गर्ने नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा कसले बाजि मार्छ ? भन्ने चासो र चर्चा पछिल्लो समय व्ह्वात्तै बढेको छ। इतिहासलाई पल्टाउने हो भने राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रिया सत्ताधारी पार्टिको कार्यकर्ता भर्तिकेन्द्र बनेको देखिन्छ। त्यसैले पनि गभर्नर बनेर पैसाको नोटमा हस्ताक्षर गर्ने सपना देखेर राजनीतिक शक्तिकेन्द्र धाउने दर्जनौं आकाङ्क्षीहरुको दौडधुप निकै बढेको छ। त्यतिमात्र होइन गभर्नरका आकाङ्क्षी बीच एक ले अर्कोलाई कमजोर देखाउने खेल सुरुभएको बैंकिङ वृत्तमा चर्चा चल्न थालेको छ, भने आगामी साता सरकारले अर्थमन्त्रीको संयोजकत्वमा केन्द्रिय बैंकको गभर्नर सिफारिस गर्न तीन सदस्यीय सिफारिस समिती गठन गर्न लागेको छ।

Advertisement

नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको प्रक्रिया नजिकिँदै गर्दा गभर्नर बन्ने दौडमा शक्तिकेन्द्र धाइरहेका दाबेदारहरुको विवादित विगत र ब्याक्तित्वले सिङ्गो बैंकिङ क्षेत्रको विश्वासनियता संकटमा परेको छ। दर्जनौं आकाङ्क्षीहरुका बिचमा नेपाल रास्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुंगाना, पुर्व अर्थ सचीव रामेश्वर खनाल  र प्रभु बैंकका सीईओ अशोक शेरचन भावी गभर्नरको लिगलिग दौडमा अग्र स्थानमा देखिएका छन। गभर्नर सिफारिस समितिले ३ जना भावी गभर्नरलाई सिफारिस गर्ने प्रक्रियामा यिनै ३ जना सिफारिस हुनसक्ने आँकलन गरिएको छ। राष्ट्र बैंक ऐन २०५८ को दफा २० मा गभर्नर पदमा नियुक्त हुने ब्यक्ति उच्च नैतिक चरित्रको हुनुपर्ने ब्यबस्था छ तर, यी तीनै व्यक्तिहरूको विगत र चरित्र नियाल्दा उनीहरूको बैंकिङ क्षेत्र सुधार भन्दा पनि आफ्ना व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिने प्रवृत्ति भएकोले सिङ्गो देशको अर्थतन्त्र धरापमा पर्ने चिन्ता थपिएको छ।

अशोक शेरचन: प्रभु बैंक डुब्ने भएपछि गभर्नर बन्ने दाउ

प्रभु बैंकका सीईओ अशोक शेरचन गभर्नर पदका बलिया दाबेदार हुन्। तर, यिनै अशोक शेरचन सबैभन्दा असफल ब्यबस्थापकको रुपमा बैंकिङ क्षेत्रमा चिनिन्छन्। करिब दुई दशक देखि प्रभु फाइनान्स हुँदै प्रभु बैंक सम्मको नेतृत्व गरेपनि बिबादास्पद बैंकरको छबि बनाएका शेरचनको कार्यशैली पारदर्शी देखिदैन। प्रभु बैंकको बित्तिय अवस्था अत्यन्तै दयनीय रहेको र शेरचनले आफ्ना आफन्तका नाममा मनपरि कर्जा बितरण गर्दा बैंकलाई करिब ४ अर्व रुपैयाँ घाटा लागेको बताइन्छ । साथै, उनले बैंक तथा बित्तिय संस्था सम्बन्धी ऐन (बाफिया) अनुसार दुई कार्यकाल भन्दा बढी बैंकको नेतृत्व गर्न नपाइने ब्यबस्था उल्लंघन गर्दै प्रभु बैंकको नेतृत्व गरिरहेका छन्।  बैंकको नीतिलाई व्यक्तिगत स्वार्थअनुसार सञ्चालन गर्ने प्रवृत्तिले उनको छवि प्रश्नचिन्हयुक्त रहेको छ।

पछिल्लो समय अशोक शेरचन बैंकमा होइन एमालेको कार्यक्रम र नेताहरुको घर-दैलोमा भेटिने गरेका छन्। शक्तिलाई स्वार्थमा राम्रो सङ्ग प्रयोग गर्न जानेका शेरचन एमालेका कट्टर समर्थक भएपनी काङ्ग्रेस र माओवादी नेताहरू सङ्ग पनि नजिक छन्। त्यसैले उनले राष्ट्र बैंक देखि प्रहरी र प्रशासनलाई समेत आफ्नो स्वार्थ अनुसार प्रयोग गर्न सफल छन्। प्रभु बैंकका एक महिला कर्मचारी (जसलाई बैंकिङ क्षेत्रमा म्याडम भनेर चिनिन्छ) र उनको सम्बन्ध बारे प्रभु बैंकमा मात्रै होइन सिङ्गो बैंकिङ क्षेत्रमा खुबै चर्चा हुने गरेको छ। उनीहरुको सम्बन्ध बारे बैंकको साधारणसभामा पनि चर्काचर्की परेको थियो। एक मिडियाले उनिहरुको सम्बन्ध बारे समाचार प्रकाशन गर्दा प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआइबी) का एसपी होबिन्द्र बोगटी मार्फत समाचार हटाउन दबाब दिइएको थियो। छोटो समयमा पटकपटक बढुवा हुन सफल तिनै म्याडमलाई आफू भन्दा पछाडि सिइओ बनाउने खेलमा लागेका शेरचनले अन्य सिनियर अफिसरहरुलाई कुनै न कुनै जालझेलमा पारेर बैंक छोडन बाध्य पार्ने गरेका छन। जानकारहरुका अनुसार बैंकिङ करियर बाट आफू बाहिरिने दिन नजिकिदै गर्दा आफू भन्दा पछि आउने सिइओ आफ्नो अनुकुल भएन भने दशकौं देखि आफुले गर्दै आएको अनियमितताले आफू फस्ने हुँदा तिनै म्याडमलाई बैंकको नेतृत्वमा पुर्याउन शेरचन जे पनि गर्न तयार देखिन्छन्। आफ्नो स्वार्थको लागि जे पनि गर्न तयार शेरचनलाई केन्द्रिय बैंकको गभर्नर बनाइयो भने प्रभु बैंक जस्तै देश टाट पल्टिनेमा शंका छैन।

निलम ढुंगाना: असक्षम नेतृत्व र विवादित ब्यक्तित्व

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुंगाना बैंकिङ नियमनमा भन्दा पनि राजनीतिक पहुँच विस्तार गर्न सक्रिय देखिन्छन्। पारिवारिक पृष्ठभुमि काङ्ग्रेस भए पनि गभर्नर बन्न एमाले नै बन्नुपर्ने परिस्थिति देखिएपछि हाल उनी एमाले कार्यकर्ता जस्तै भुमिकामा देखिन लागेकी छिन। उनी आफू राष्ट्र बैंकको एक मात्र उच्च पदस्थ महिला भएको बताउदै लैङ्गिक बिभेदको कुरा उठाइरहेकी छन्। भने पहिलो महिला गभर्नर बन्ने दाउमा पुर्वराष्ट्रपती बिद्या भण्डारी र प्रधानमन्त्री पत्नी राधिका शाक्य लाई फकाइरहेकि छिन् । डेपुटी गभर्नर निलम ढुंगानाको बैंकिङ नीतिगत निर्णयहरू मात्र होइन ब्यक्तित्व पनि त्यतिकै विवादित छन्, जसले बैंकिङ क्षेत्रको स्थिरतालाई झनै जोखिममा पार्ने काम गरेको छ। उनीसँग बैंकिङ सुधारका ठोस योजना भन्दा पनि नियमनकारी संस्थालाई आफ्नो स्वार्थअनुकूल चलाउने रणनीति रहेको विश्लेषण गरिन्छ।

गत वर्ष राष्ट्र बैंकले नगरकोटस्थित होटल मिस्टिक माउन्टेनमा आयोजना गरेको ‘स्ट्रेस म्यानेजमेन्ट’ कार्यक्रममा आफू माथी यौन दुर्व्यवहार भएको भन्दै एक महिना पछि राष्ट्र बैंकमा उजुरी दिएकी थिइन्। फलफुल जुसको बिल बनाएर सरकारी पैसामा एउटै टेबलमा आफू सङ्गै बसेर मदिरा सेवन गर्ने राष्ट्र बैंकका निर्देशक थानेश्वर आचार्य, समकक्षी बम बहादुर मिश्र र अर्का एक कार्यकारी निर्देशकलाई फसाउने प्रयास गरेको आरोप लागेको छ। उनको उजुरीको आधारमा निर्देशक थानेश्वर आचार्यलाई हटाइएको थियो। तर प्रशासकीय अदालतले राष्ट्र बैंकको निर्णय बदर गर्दै आचार्यलाई पुनर्बहाली गर्न आदेश दिएपछि ढुंगानाको दावीको रहस्य र नियतको पर्दाफास भएको हो। अर्का डेपुटी गभर्नर बम बहादुर मिश्र पनि गभर्नरको दाबेदार भएकोले मिश्रलाई रोक्नको लागि यो उनको रणनीतिक हिस्सा भएको विश्लेषण राष्ट्र बैंक भित्रैबाट हुन थालेको छ। उनको यस्तो क्रियाकलापले राष्ट्र बैंकका कर्मचारी आजित छन। समग्रमा उनलाई राष्ट्र बैंकको गभर्नर बनाए समग्र अर्थतन्त्र तहसनहस बन्ने देखिन्छ।

रामेश्वर खनाल : ब्राण्डेड ब्यक्तित्वको खराब गुणस्तर

गभर्नर नियुक्तिमा अहिले सबैभन्दा हिटिङ नाम रामेश्वर खनाल हो। काङ्ग्रेस पृष्ठभुमिका खनाल अर्थसचिव हुँदा आफ्नै आफन्त रहेका एमाले नेता तथा अर्थमन्त्री भरतमोहन अधिकारीसङ्गको विवादको कारण राजीनामा दिएर रहस्यमय रुपमा केही महिना भुमिगत थिए। अर्थ प्रशासनका काबिल हाकिमका ब्राण्ड बनेका खनाल र एमाले नेतृत्वबीच पछिल्लो समय आश्चर्यजनकरुपमा सम्बन्ध सुधार भएपछि गभर्नरका अन्य आकाङ्क्षीहरुलाई टाउको दुखाइको विषय बनेको छ। केही समय अघि अर्थमन्त्रालयले अर्थतन्त्रको सुधार सम्बन्धी सुझाव दिन गठन गरिएको सुझाव समितिको नेतृत्व खनाललाई दिइनुले पनि सम्बन्धसुधार भएको पुष्टि हुने देखिन्छ। उक्त घटनालाई खनालको गभर्नर नियुक्तिको लागि सृजना गरिएको सिँढी थियो भन्ने चर्चा अर्थबजारमा भइरहेको छ। अर्थ प्रशासनमा आफ्नो ब्राण्डको बजारीकरण जस्तोसुकै राम्रो गरेपनी उनको गुणस्तर भने प्रचार गरिएजस्तो देखिदैन। बिगतमा अर्थ सचिव हुँदा गरेका केही निर्णयले बैंकिङ क्षेत्रलाई नै संकटमा पार्ने खतरा बढाएको थियो।

गभर्नरको लिगलिगे दौडमा यस्ताछन् आकाङ्क्षी

यस्तै, पूर्वअर्थसचिव डा. राजन खनाल,  पूर्वसचिव केशव भट्टराईलाई पनि गभर्नरको दाबेदारको रूपमा हेरिएको छ । यस्तै, पूर्वबैंकर राजनसिंह भण्डारी, पूर्वराजस्व सचिव लालशंकर घिमिरे, राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ, डा. गुणाकर भट्ट, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना, राष्ट्रिय वाणिज्य बैंकका पूर्वसिइओ किरणकुमार श्रेष्ठलगायतको नाम पनि गभर्नर बन्नसक्ने आकांक्षीको सूचीमा छ ।

वाणिज्य बैंकका सिइओहरूमध्ये कुनै एकले बाजी मार्ने सम्भावना धेरै रहेको विश्लेषण भइरहेको छ । उक्त विश्लेषणलाई आधार मान्ने हो भने एमाले निकट रहेका प्रभु बैंकका सिइओ अशोक शेरचन र काङ्ग्रेस निकट रहेका नबिल बैंकका सिइओ ज्ञानेन्द्र ढुंगाना मध्य एकले बाजी मार्ने देखिन्छ। राष्ट्र बैंकको आगामी नेतृत्वले बैंकिङ क्षेत्रलाई पारदर्शी, विश्वसनीय र स्थायित्वयुक्त बनाउने दिशामा काम गर्नुपर्नेमा धेरैको सहमति छ। तर, हालको गभर्नर नियुक्ति प्रक्रियाले बैंकिङ सुधारभन्दा राजनीतिक प्रभाव र व्यक्तिगत स्वार्थकै लागि पद ओगट्ने खेललाई प्राथमिकता दिने सम्भावना बलियो देखिएको छ।

प्रकाशित मिति: २४ फाल्गुन २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com