काठमाडौं । काठमाडौंको प्रदर्शनी मार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) मा चैत ५ गते (आज) तय भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको छ।
सोमबार मध्यराति नेकपा (एमाले) निकट अनेरास्ववियु र एकीकृत समाजवादी निकट अनेरास्ववियुले मतदाता सूचीमा त्रुटि रहेको भन्दै क्याम्पस प्रशासनमा तालाबन्दी गरेका थिए। उनीहरूले विद्यार्थी परिचयपत्रको सम्बन्धमा प्रश्न उठाउँदै निष्पक्ष निर्वाचन सुनिश्चित गर्न माग गरेका थिए।
चुनावकै दिन मंगलबार बिहान क्याम्पस निर्वाचन समितिले आकस्मिक बैठक बसी स्ववियु निर्वाचन स्थगित गर्ने निर्णय गरेको हो। निर्वाचन समितिका अनुसार, विद्यार्थी संगठनहरूसँग थप छलफल गरेपछि मात्र नयाँ मिति तय गरिनेछ।
यस घटनाले विद्यार्थी राजनीतिमा थप असमझदारी र विवाद उत्पन्न गराएको छ भने क्याम्पस प्रशासनसमेत समस्यामा परेको छ। आगामी दिनमा निर्वाचन कहिले हुने भन्नेबारे स्पष्टता आउन बाँकी छ।
प्रकाशित मिति: ४ चैत्र २०८१, मंगलबार













प्रतिक्रिया