काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमलाई तीव्र आलोचना गरेका छन्। उनले उक्त कार्यक्रमलाई ‘पुरानो ढर्राको च्यातिएको कागज’सँग तुलना गर्दै, यसले देशको आवश्यकता पूरा गर्न नसक्ने दाबी गरे।
संसद भवनबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै शाहीले भने, “सरकारको नीति तथा कार्यक्रम टोले गुन्डाहरूको हप्ता उठाउने सम्झौताको खोष्टो जस्तै छ। यो अगुल्टोले हानेको कुकुर बिजुली देख्दा झसङ्ग भएको जस्तो हो। यहाँ ‘गरिनेछ, भनिनेछ, सुनिनेछ’ भन्ने सुगा रटाइ मात्र सुनिन्छ।”
उनले सरकारको नीति र कार्यक्रमले युवाको रोजगारी, देशको समृद्धि र जनताको आधारभूत आवश्यकताबारे ठोस योजना नल्याएको भन्दै निराशा व्यक्त गरे। शाहीका अनुसार यस्तो नीति कार्यक्रमले देशको वर्तमान समस्याको समाधान सम्भव छैन।
‘यो त सिर्फ भ्रष्टाचारीलाई संरक्षण र संस्थागत गर्न आयो’, उनको टिप्पणी छ ।
प्रकाशित मिति: १९ बैशाख २०८२, शुक्रबार












प्रतिक्रिया