काठमाडौं – नेकपा (एमाले)का सांसद सूर्य थापा शनिबार बिहानै राष्ट्रिय सभा सदस्य वामदेव गौतमको निवासमा पुगेर भेटघाट गरेका छन्। गौतमसँगको भेटका तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै थापाले यो भेटलाई ‘महत्वपूर्ण’ भनेका छन्।
थापाले प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यको नाताले आफूहरू आ–आफ्नो निर्वाचन क्षेत्र र जन्मथलोको विकासका लागि मिलेर अघि बढ्ने समझदारी सुरु भएको जनाएका छन्।
थापाले लेखेका छन्, ‘वरिष्ठ राजनीतिज्ञ राष्ट्रियसभा सदस्य कमरेड वामदेव गौतमसँग भैंसेपाटीस्थित निवासमा महत्वपूर्ण भेटघाट भएको छ। मूलतः प्युठानमा उहाँको समयमा थालनीको प्रक्रियामा रहेका केही कामहरूप्रतिको लगाव र जोड जिउँदो- जाग्दो नै रहेको छ।हामीले प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यको हैसियतमा दुवैले आआफ्नो निर्वाचन क्षेत्र र जन्मथलोका लागि मिलेर केही गर्न लागिपर्ने समझदारी थालेका छौं।’
शुक्रबार संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग गौतम सँगै बसेका थिए। एकीकृत समाजवादीका सांसदहरूबीचै गौतम पनि बसेको दृश्यले एमालेभित्र राजनीतिक हलचल निम्त्याएको छ।
त्यसको भोलिपल्टै अर्थात् शनिबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीका नजिकका नेता मानिने थापा वामदेव गौतमको भैंसेपाटीस्थित निवासमा पुगेर भेट गर्नु राजनीतिक सन्देशको रूपमा हेरिएको छ। थापा ओलीका ‘दूत’को रूपमा पुगेको चर्चा राजनीतिक वृत्तमा चलिरहेको छ।
प्रकाशित मिति: २० बैशाख २०८२, शनिबार












प्रतिक्रिया