काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक नेपाली समाजमा सुदृढ राष्ट्रिय एकता निर्माण गर्न विविधतासहितको सांस्कृतिक पहिचानको सम्मान र संरक्षण अपरिहार्य रहेको बताएका छन्।
गौतमबुद्धको २५६९औं जन्मजयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले बुद्धजयन्ती केवल धार्मिक श्रद्धा वा सांस्कृतिक उत्सव मात्र नभई, सामाजिक रूपान्तरण र यथास्थितिविरुद्धको शान्तिपूर्ण क्रान्तिको प्रेरणादायी ऐतिहासिक अवसरसमेत भएको बताएका छन्।
उनले भने, “इतिहासको रथलाई पश्चगमनतर्फ होइन, प्राप्त उपलब्धिहरूको संरक्षण गर्दै थप अधिकारका लागि अग्रगमनतर्फ अघि बढ्नु आजको युगको माग हो।”
शान्तिका अग्रदूत, राष्ट्रिय विभूति तथा बौद्ध दर्शनका प्रवर्तक गौतमबुद्धले करुणा, अहिंसा र मध्यम मार्गको शिक्षामार्फत जातीय, लैङ्गिक र सामाजिक विभेदका विरुद्ध विचारको क्रान्ति आरम्भ गरेको उल्लेख गर्दै उनले बुद्धको शिक्षाले आज पनि न्याय, समानता र समावेशी समाज निर्माणमा प्रेरणा दिइरहेको बताए।
प्रचण्डले भने, “गौतमबुद्धको व्यवहारमै आधारित शिक्षाले हामीलाई समुन्नत, समावेशी र न्यायपूर्ण समाज निर्माणतर्फ अग्रसर गराइरहेको छ। क्रान्ति र शान्ति एकअर्काका विरोधी होइनन्, यी समाज परिवर्तनका परिपूरक पक्ष हुन्। बुद्धको दर्शनले हामीलाई यही गहन सन्देश दिएको छ।”
उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइ र बौद्ध धर्मावलम्बीहरूलाई बुद्धजयन्तीको अवसरमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।
यसरी, अध्यक्ष प्रचण्डले बुद्धजयन्तीलाई धार्मिक सीमाभन्दा बाहिरको सामाजिक चेतना र राष्ट्रिय एकताका लागि प्रेरणा लिने अवसरको रूपमा ग्रहण गर्न आग्रह गरेका छन्।
प्रकाशित मिति: २९ बैशाख २०८२, सोमबार












प्रतिक्रिया