काठमाडौं । गणतन्त्र दिवसको अवसरमा आज काठमाडौंमा नेकपा एमाले र राजावादी समूहहरूले आआफ्नै कार्यक्रम गर्ने भएपछि राजधानीमा सवारी आवागमन व्यवस्थित गर्न झण्डै ८ सय ट्राफिक प्रहरी परिचालन गरिएको छ।
नेकपा एमालेले गणतन्त्र दिवसलाई उत्सवको रूपमा मनाउँदै सांस्कृतिक झाँकीसहितको र्याली निकाल्ने तयारी गरेको छ भने, राजावादी दल तथा समर्थक समूहहरू गणतन्त्रको विरोध गर्दै राजसंस्थाको पुनःस्थापनाको मागसहित प्रदर्शन गर्दैछन्।
एमालेको र्याली बिहान ११ बजेदेखि दिउँसो साढे २ बजेसम्म भृकुटीमण्डपबाट सुरु भई शहीदगेट, बीर अस्पताल, रत्नपार्क हुँदै पुनः भृकुटीमण्डपमै समापन हुने कार्यक्रम छ।
राजावादी पक्ष, जसमा राप्रपा, राप्रपा नेपालसहितका दल तथा विभिन्न संस्थाहरू छन्,ले भने रत्नपार्क–शान्तिबाटीका क्षेत्र आसपासमा विरोध प्रदर्शन गर्ने जनाएका छन्।
दुवै पक्षका कार्यक्रमलाई मध्यनजर गर्दै काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीले शान्ति सुरक्षाका लागि आवश्यक सम्पूर्ण प्रबन्ध मिलाइएको जानकारी दिए। उनले भने, “कुनै पनि अप्रिय घटना नहोस, निषेधित क्षेत्रमा कोही प्रवेश नगरोस भन्ने उद्देश्यसहित सुरक्षा योजना बनाइ सुरक्षा बल परिचालन गरिएको छ।”
यद्यपि दुवै पक्षका प्रदर्शन स्थल र समय फरक–फरक भए पनि राजधानीको सवारी व्यवस्था केही समयका लागि प्रभावित हुने सम्भावना देखिएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक दीपक गिरीका अनुसार, सवारी व्यवस्थापनका लागि प्रारम्भिक चरणमा ७८३ जना ट्राफिक प्रहरी खटाइएको छ।
उनले भने, “हाल ७८३ जना ट्राफिक प्रहरी परिचालन गरिसकेका छौं, आवश्यकता अनुसार संख्या थप्ने तयारी पनि गरिएको छ।”
उनका अनुसार, प्रदर्शन स्थलतर्फ सवारी प्रवेश रोक्न विशेष डाइभर्सन योजना लागू गरिएको छ ताकि ट्राफिक व्यवस्थापन सहज होस् र जनतालाई सास्ती नहोस्।
प्रकाशित मिति: १५ जेष्ठ २०८२, बिहिबार












प्रतिक्रिया