काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस र एमालेसँगको विगतको राजनीतिक सहकार्यले आफूहरूलाई राम्रो अनुभव नदिएको बताएका छन्। शनिबार कीर्तिपुर नगर समितिद्वारा आयोजित पिकनिक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले भविष्यमा ती दलहरूसँग सहकार्य नगर्ने स्पष्ट संकेत दिएका हुन्।

“हामीले पटक–पटक कांग्रेस र एमालेसँग सहकार्य ग-यौँ,” उनले भने, “तर लाग्छ, उनीहरूको रोग हामीमा सरेजस्तो भयो। त्यो रोग त सरुवा नै रहेछ। अब हामी जनताको घर–घरमा पुगेर यसको उपचार गर्छौं।”

advertisement

कार्यक्रममा अध्यक्ष प्रचण्डले तराई क्षेत्रमा सञ्चालित हुलाकी अभियानको उल्लेख गर्दै करिब ८–९ लाख जनताको माओवादी केन्द्रमा प्रवेश भएको जानकारी दिए। उनले हालसम्म दुई राजनीतिक दलसँग एकता सम्पन्न भइसकेको र मध्यपहाडी लोकमार्ग अभियान सम्पन्न भएपछि थप तीन दलसँग निसर्त एकता गरिने बताए।

“अब जनताले बुझ्न थालेका छन् कि माओवादी कांग्रेस वा एमालेजस्तो होइन,” उनले स्पष्ट पारे, “माओवादी केन्द्र नै जनताको वास्तविक प्रतिनिधि शक्ति हो भन्ने बोध जनस्तरमा फैलिँदै छ।”

प्रचण्डले माओवादी केन्द्र व्यवहारमै रूपान्तरणको यात्रामा रहेको दाबी गर्दै जनमाझबाटै आफूहरूको राजनीतिक अभ्यासलाई सुधार्दै अघि बढ्ने प्रतिबद्धता दोहोर्‍याए। उनले माओवादीलाई जनताको विश्वासिलो पार्टीको रूपमा पुनःस्थापित गर्ने अठोट व्यक्त गरे।

कीर्तिपुरको राजनीतिक महत्त्वको चर्चा गर्दै उनले यस क्षेत्रलाई सधैं परिवर्तनको पक्षमा अगाडि सर्ने शक्ति भएको बताए। “कीर्तिपुरले मलाई गणतन्त्र नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री बनाउने योगदान दिएको म बिर्सन सक्दिनँ,” उनले भने, “यहाँका नेता, कार्यकर्ता, युवा, वृद्ध सबैलाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु।”

कीर्तिपुरमा हालै सम्पन्न निर्वाचनको प्रसंग उल्लेख गर्दै प्रचण्डले भने, “हामीले विशेष प्रयास गर्‍यौँ, डा. शिवशरण महर्जनलाई जिताउन सकेनौं, तर तेस्रो स्थानबाट दोस्रोमा पुर्‍यायौं। हामी निराश छैनौं। अब केही नयाँ गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेका छौँ।”

उनले पार्टीले जेठ २० गतेदेखि उपत्यकामा “जागरण अभियान” सुरु गर्ने जानकारी दिँदै नेवार समुदायलाई प्राथमिकतामा राखिएको बताए। त्यसै सन्दर्भमा जेठ २१ पछि पोखराबाट सुरु गर्ने भनिएको मध्यपहाडी लोकमार्ग अभियान सारिएको उल्लेख गरे।

“नेवार समुदायभित्र समाजवादी संस्कृतिको भ्रूण पाइन्छ,” प्रचण्डले भने, “समाजवादको खोजी बाहिर होइन, हामीले हाम्रो जातीय, सांस्कृतिक र परम्परागत धरातलमै गर्नुपर्छ।”

प्रकाशित मिति: १७ जेष्ठ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com