काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रप्रति भ्रम फैलाएर माओवादीलाई एक्ल्याउने षड्यन्त्र भइरहेको बताएका छन्।
वाईसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गणतन्त्र केवल माओवादी वा आफूले मात्र ल्याएको भनेर भ्रामक प्रचार भइरहेकोप्रति चिन्ता व्यक्त गरे।
उनले भने, “जनयुद्धले निर्णायक भूमिका खेलेको हो, तर गणतन्त्र केवल माओवादीको कारणले मात्र आएको होइन। यो समग्र नेपाली जनताको संघर्ष र कांग्रेस, एमालेलगायतका दलहरूको सहकार्यकै परिणाम हो।”
प्रचण्डका अनुसार कतिपय राजावादी तत्वहरू गणतन्त्रको सम्पूर्ण श्रेय माओवादी र प्रचण्डलाई दिएर अरू राजनीतिक शक्तिहरूलाई पन्छ्याउने प्रयासमा छन्। “यो प्रवृत्तिले सतही रूपमा सुन्दा हामीलाई सुखद लाग्न सक्छ,” उनले भने, “तर यसले अन्ततः माओवादी र मलाई एक्ल्याउने र बदनाम गर्ने लक्ष्य राखेको छ।”
पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले वर्तमान समयमा माओवादीको मुख्य जिम्मेवारी गणतन्त्रको रक्षा गर्दै त्यसलाई समाजवादी दिशातर्फ अगाडि बढाउने रहेको उल्लेख गरे।
“हामी दुई मोर्चामा लडिरहेका छौं—यथास्थितिवाद र प्रतिगमनविरुद्ध,” उनले भने, “सरकारको कमजोरीले प्रतिगमनकारीहरूले फेरि टाउको उठाउने प्रयास गरिरहेका छन्। जनताले पाएका अधिकार खोस्न उनीहरू धमिलो पानीमा माछा मार्न खोजिरहेका छन्। यसलाई परास्त गर्नु अहिलेको ऐतिहासिक आवश्यकता हो।”
उनले सबै प्रगतिशील शक्तिहरूलाई एकताबद्ध भई गणतन्त्रको रक्षा र समाजवादको बाटोमा अगाडि बढ्न आह्वानसमेत गरे
प्रकाशित मिति: १८ जेष्ठ २०८२, आइतबार













प्रतिक्रिया