काठमाडौं । नागार्जुन नगरपालिकाका पूर्वमेयर मोहनबहादुर बस्नेतलाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले दोषी ठहर गरेको छ। विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश रामबहादुर थापाको संयुक्त इजलासले शुक्रबार उक्त फैसला सुनाएको हो।

अदालतको ठहरअनुसार, बस्नेतले पदको दुरुपयोग गर्दै पद्मा कोलोनी प्रालि र पद्मा मर्चेन्ट कम्पनी प्रालिका सञ्चालक राजुप्रसाद कँडेलबाट ९ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ घुस लिएका थिए। ती कम्पनीहरूले नगरपालिकाबाट आफ्नो नाममा जग्गा प्राप्त गर्न घुस दिएको प्रमाणित भएको अदालतले जनाएको छ।

advertisement

यसैगरी, बस्नेतले गैरकानुनी रूपमा लिएको रकम आफ्नै नाममा जग्गा खरिद गरी कित्ताकाट गरेको र तिनलाई विभिन्न व्यक्ति तथा कम्पनीहरूलाई बिक्री वितरणसमेत गरेको अदालतको फैसलामा उल्लेख छ। यस्ता क्रियाकलापबाट उनले १३ करोड १२ लाख ७३ हजार रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरण गरेको ठहर गरिएको छ।

दुई मुद्दामध्ये भ्रष्टाचार मुद्दामा बस्नेत र कँडेल दुवै दोषी, तर सम्पत्ति शुद्धीकरण मुद्दामा केवल बस्नेतलाई मात्र दोषी ठहर गरिएको हो। अन्य सबै प्रतिवादीहरू भने सफाइ पाउन सफल भएका छन्। दोषी ठहर भएका बस्नेत र कँडेलको सजाय निर्धारणका लागि अदालतले असार १६ गते सुनुवाइ मिति तोकेको छ।

यसअघि, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७९ पुस १४ गते मोहनबहादुर बस्नेत, उनकी पत्नी उर्मिला बस्नेत र व्यवसायी कँडेलविरुद्ध भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दायर गरेको थियो।

भ्रष्टाचार मुद्दामा जनही ९ करोड २२ लाख ४६ हजार र सम्पत्ति शुद्धीकरण मुद्दामा जनही १३ करोड १२ लाख ७३ हजार बिगोको दाबी गर्दै अख्तियारले मुद्दा अघि सारेको थियो। अदालतले भ्रष्टाचार मुद्दामा अख्तियारको दाबी अनुसार फैसला गरे पनि सम्पत्ति शुद्धीकरणमा भने बस्नेतबाहेक अन्य दुईजनालाई सफाइ दिएको हो।

यस फैसलासँगै मोहनबहादुर बस्नेत स्वतः मेयर पदबाट पदमुक्त भएका छन्।

यसबाहेक, बस्नेतमाथि अख्तियारले २०७९ माघ २७ गते अर्को छुट्टै मुद्दा पनि दायर गरेको थियो। उक्त मुद्दामा उनलाई ८ करोड ६९ लाख ८७ हजार १०५ रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोप लागेको थियो। तर, सो मुद्दामा भने अदालतले उनलाई सफाइ दिएको छ।

प्रकाशित मिति: ६ असार २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com