काठमाडौं । श्री नारायणहिटी नारायणस्थान गुठी व्यवस्थापन समितिको वार्षिक साधारणसभा भव्य रूपमा सम्पन्न भएको छ। मन्दिर परिसरमा आयोजित उक्त साधारण सभाले गुठीको संस्थागत सुदृढीकरण, धार्मिक सम्पदा संरक्षण, भौतिक पूर्वाधार विकास लगायतका विषयमा विस्तृत छलफल गर्दै नयाँ कार्यसमिति चयन गरेको छ।
नवगठित कार्यसमितिमा प्रधुम्न मिश्र अध्यक्ष पदमा निर्वाचित भएका छन्। हरिकृष्ण दाहाल सचिव, सौरभ भण्डारी कोषाध्यक्ष तथा डा. शोभा ढुंगाना र राजु पन्थ सदस्यका रूपमा निर्वाचित भएका छन्।
परम्परानुसार नवगठित समितिमा मन्दिरका पिठाधीश डा. स्वामी राजेश्वरानन्द सरस्वती, काठमाडौं महानगरपालिका वडा –१ का प्रतिनिधि र गुठी संस्थानका प्रतिनिधि पदेन सदस्यका रूपमा रहनेछन्।
कार्यक्रम पूर्व पुजारी तथा गुठी व्यवस्थापन समितिका अध्यक्ष रोहिणी प्रसाद पौडेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा सचिव प्रधुम्न मिश्रले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने आर्थिक विवरण, पर्व तथा उत्सवहरूको समिक्षा र आगामी योजनाहरूको सम्बन्धमा विस्तृत छलफल गरि पारित गरिएको थियो।
सभामा मन्दिरका संरक्षक तथा पूर्व रक्षा मन्त्री भिमसेनदास प्रधान, गुठी संस्थान केन्द्रिय कार्यालय धार्मिक शाखाका प्रमुख राजेन्द्र दाहाल, विभिन्न सुरक्षा निकायका प्रतिनिधि, पूर्व पुजारीहरू, संरक्षक, सल्लाहकार तथा भक्तजनहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
गत वर्ष समितिले गरेका उल्लेखनीय कार्यहरूमा मन्दिर परिसरको स्तरोन्नति, प्रसाद गृह निर्माण, गंगा आरतीको नियमित सञ्चालन, शौचालय र यज्ञशाला निर्माण, सप्ताह कार्यक्रम तथा विशेष पर्वहरूको भव्य आयोजना गरेको जनाएको छ।
विश्व आध्यात्मिक जगतमा मन्दिरलाई दिव्यधामका रूपमा परिचित गराउने, आध्यात्मिक पर्यटन गन्तव्य बनाउने दीर्घकालीन लक्ष्यमा समिति पुनः प्रतिबद्ध हुँदै आगामी दिनमा अझ प्रभावकारी ढंगले गुठी संस्थान तथा स्थानीय सरकारसँग सहकार्य गरि कार्यसम्पादन गर्ने नवनिर्वाचित अध्यक्ष प्रधुम्न मिश्रले बताए।
प्रकाशित मिति: ७ असार २०८२, शनिबार













प्रतिक्रिया