काठमाडौं।  देशभर मनसुनी वायुको सक्रिय प्रभावले जनजीवन प्रभावित बनेको छ। जल तथा मौसम विज्ञान महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली र अन्य प्रदेशमा आंशिक बदली रहेको छ। आज बिहानैदेखि कोशी प्रदेशका केही स्थानहरूमा तथा मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

भारी वर्षाको चेतावनी:

advertisement

महाशाखाले जारी गरेको विशेष मौसम बुलेटिनअनुसार आगामी २४ घण्टाभित्र बागमती र गण्डकी प्रदेशसहित पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। विशेषगरी, कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। देशका उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

बाढीपहिरो र भूक्षयको जोखिम:

मनसुन सक्रिय भएसँगै नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो र भूक्षयजस्ता प्रकोपको जोखिम बढेको छ। महाशाखाले यी जोखिमका कारण जनस्वास्थ्य, कृषि, दैनिक जनजीवनका साथै सडक तथा हवाई यातायातमा समेत गम्भीर असुविधा, जोखिम वा क्षति पुग्न सक्ने चेतावनी दिएको छ। सम्भावित क्षतिबाट बच्न तथा न्यूनीकरणका लागि आवश्यक पूर्वतयारी र सतर्कता अपनाउन आम सर्वसाधारणलाई महाशाखाले विशेष अनुरोध गरेको छ।

प्रकाशित मिति: ९ असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com