काठमाडौं। गर्मी र वर्षातको समयमा मात्र देखिने डेंगु सुदूरपश्चिममा बाह्रै महिना देखिन थालेको छ । जलवायु परिवर्तनको असरले लामखुट्टेको प्रजनन समयावधि लम्बिनु, तापक्रममा असमान्य वृद्धि हुनु, वर्षा चक्रको अनियमियताले डेंगुको सङ्क्रमण बढ्दै गएको छ ।

जलवायु परिवर्तनका कारण लामखुट्टेको रोग सार्ने क्षमतामा वृद्धि हुँदै गएको सुदूरपश्चिम प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकारी हेमराज जोशीले बताए । । “तापक्रम र वर्षाको चक्रले डेंगुको जोखिमलाई बढाएको छ”, उनले भने, “पहिला गर्मी र वर्षाका बेलामात्र डेंगुको सङ्क्रमण देखिन्थ्यो, अहिले चिसो महिनामा पनि डेंगु सङ्क्रमण देखिन थालेको छ, वातावरणीय तापक्रम बढ्दा लामखुट्टे बाह्रै महिना बाँच्ने वातावरण कायम भएको छ ।”

advertisement

लामखुट्टेको जीवनचक्रमा मौसमले सघाउ पुर्‍याउँदा डेंगुको सङ्क्रमण चुनौतीका रूपमा देखापरेको जोशी बताउँछन् । उनका अनुसार सन् २०२५ को जनवरीदेखि जुनसम्मको अवधिमा सुदूरपश्चिम प्रदेशका एक सय ६७ जनामा डेंगु सङ्क्रमण देखिएको छ । जनवरीमा २२, फेब्रुअरीमा २७, मार्चमा १७, अप्रिलमा ४०, मेमा ३४ र जुनको हालसम्म २० जनामा डेंगु सङ्क्रमण देखापरेको छ । सोही अवधिमा सबैभन्दा बढी डडेल्धुरामा ३४ जनमा र त्यसपछि कैलालीमा ३१ जनामा डेंगुको सङ्क्रमण देखिएको छ ।

कञ्चनपुरमा २९, डोटीमा २५, अछाममा २४, बझाङमा ११, बाजुरामा ११ र दार्चुलामा दुई जनामा डेंगु सङ्क्रमण देखापरेको छ । बैतडीमा भने जनवरीदेखि जुन महिनाको अहिलेसम्म डेंगुका बिरामी देखापरेका छैनन् । एडिस एजिप्टाई जातको सङ्क्रमित लामखुट्टेको टोकाइबाट डेंगु सर्छ ।

डेंगु सार्ने लामखुट्टेले बिहान र दिउँसोका समयमा बढी टोक्ने भएकाले त्यसबेला लामो कपडा लगाउने, सुत्दा झुलको प्रयोग गर्ने, पानी जम्न नदिने, हप्तामा एकपटक घर वरपरका ट्याङ्की, डब्बा, टायरलगायतमा जमेको पानी फाल्ने कार्य गर्नुपर्ने, विद्यालयमा डेंगुसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव स्वास्थ्यकर्मीको छ ।

प्रकाशित मिति: १३ असार २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com