काठमाडौं । मकवानपुरको हेटौडास्थित रातोमाटे प्रहरी चौकीका इञ्चार्जका रुपमा रहेका प्रहरी सहायक निरीक्षक सागर लुङ्वा नेतृत्वको प्रहरी टोलीले आपराधिक गिरोहविरुद्ध गरिएका सुरक्षा अपरेसनले उल्लेखनीय सफलता हासिल गरेको छ।

यसअघि रातोमाटे प्रहरी चेकपोस्टमा सईको नेतृत्व रहने गर्थ्यो तर, हाल असई (प्रहरी सहायक निरीक्षक) लुङ्वाको नेतृत्वको प्रहरी टोलीको सतर्कता र सक्रियताले अपराध नियन्त्रण गर्न ठूलो सफलता प्राप्त गर्दै आइरहेको देखिन्छ।

advertisement

वि.सं २०७८ सालदेखि प्रहरीले लागुऔषध नियन्त्रणमा प्राथमिकता दिएर अगाडि बढाउँदै आए पनि पछिल्लो समय अन्तरजिल्ला र अन्तरदेशीय गिरोहहरूको सक्रियता बढेको बेला सशक्त अपरेशन आवश्यक थियो। यही सन्दर्भमा, लुङ्वाको नेतृत्वमा प्रहरी चेकपोस्ट रातोमाटेले आपराधिक गतिविधिहरूको लगातार निगरानी गर्दै सुराकीका आधारमा सवारी साधनमा चेकजाँच अभियान तीव्र बनाएको थियो।

वि.सं २०८१ साल फागुन ११ गते रौतहटको गौरबाट हेटौंडा आउँदै गरेको ना ८ ख ८७७३ नम्बरको यात्रुबाहक बस जाँच गर्ने क्रममा दुईजनाको साथबाट एकथान ९ एमएम अटोमेटिक पेस्तोल र तीनथान गोलीसहित दुवै व्यक्तिलाई लुङ्वा नेतृत्वको प्रहरीटोलीले तत्काल नियन्त्रणमा लियो।

यस्तै, फागुन ३ गते वीरगंजबाट नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश ०६००१ ज ००७१ नम्बरको ईभी यात्रुबाहक गाडीबाट सोहि प्रहरी टोलीले ५७ ग्राम ३२० मिलिग्राम खैरो हिरोइन लागुऔषधसहित दुई अभियुक्त पक्राउ गर्‍यो ।

चैत ११ गते बारा जिल्लाबाट हेटौंडा आउँदै गरेको मधेस प्रदेश ०२००१ च १४३८ नम्बरको बोलेरो पिकअप गाडीबाट लागुऔषध नाइट्राभेट ५,७५० ट्याब्लेटसहित दुई व्यक्तिलाई पक्राउ गरिएको छ। उक्त ट्याब्लेट मानसिक असर पार्ने खालको प्रतिबन्धित औषधि (लागू औसध) हो।

यसैगरी, २०८३ वैशाख १४ गते हेटौंडाबाट बारातर्फ जाँदै गरेको बा.प्र. ०१०३० च १०४६ नम्बरको पिकअप गाडीबाट १०५ किलो गाँजा बरामद गर्‍यो । गाँजासहित पिकअप गाडी र चालक नियन्त्रणमा लिइएको थियो।

पछिल्लो सफलता जेठ ११ गते जब भारतको मोतिहारीबाट काठमाडौँतर्फ गइरहेको विआर ४०८ नम्बरको भारतीय नम्बर प्लेट भएको कारबाट ट्रामाडोल २५,४५५ क्याप्सुल र ओनरेक्स १२० बोतल बरामद गरिएको हो। लागुऔषधसहित तीनजना भारतीय नागरिक पक्राउ परेका छन्।

यी सबै घटनाहरू एक प्रतिनिधि उदाहरण मात्रै हुन्। प्रहरी सहायक निरीक्षक सागर लुङ्वाको सुरक्षाप्रति देखिएको जिम्मेवारीबोध, कुशल नेतृत्व क्षमता र जोखिमपूर्ण अपरेसन संचालन गर्ने साहसलाई उजागर गर्छ। सीमावर्ती क्षेत्र र यातायातमार्गलाई संवेदनशील मानेर गरिएको निगरानीले लागुऔषध कारोबार र हातहतियार जस्ता अपराधलाई नियन्त्रण गर्न ठूलो मद्दत पुर्‍याएको छ।

कानुनी राज्यको परिकल्पनालाई कार्यान्वयन गर्ने प्रहरी अधिकारीको रूपमा सागर लुङ्वा एक उदाहरणीय पात्रका रूपमा स्थापित हुँदै गएका देखिन्छन्।

प्रकाशित मिति: १६ असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com