काठमाडाैं । झापामा कोभिड संक्रमण पुनः देखिन थालेसँगै जिल्लामा १५ हजार डोज फाइजर खोप आइपुगेको छ। स्वास्थ्य कार्यालय झापाका प्रमुख डा. रमेश बाराकोटीका अनुसार नयाँ खोप तालिकाअनुसार खोप अभियान अगाडि बढाइने तयारी छ।
बाराकोटीले झापाका स्थानीय तहहरूसँग समन्वय गरी खोप वितरण गरिने जानकारी दिएका छन्। नयाँ तालिकाअनुसार रोग प्रतिरोध क्षमता कमजोर भएका पाँच वर्षभन्दा माथिका बालबालिका, वयस्क, ज्येष्ठ नागरिक, स्वास्थ्यकर्मी, गर्भवती महिला, तथा १२ वर्षभन्दा माथिका अन्य व्यक्ति प्राथमिक खोप लक्षित समूहमा छन्।
यसैबीच, जिल्लामा हालसम्म ८ जना कोभिड संक्रमित फेला परेका छन्। तीमध्ये पाँच जना झापा, र बाँकी मोरङ, इलाम र दोलखा जिल्लाका हुन्। संक्रमण देखिन थालेपछि मेचीनगरको काँकरभिट्टा नाकामा शंकास्पद व्यक्तिको कोभिड परीक्षण थालिएको छ। परीक्षणका लागि तीन जना स्वास्थ्यकर्मी खटाइएको जनाइएको छ।
बाराकोटीका अनुसार जटिल प्रकृतिका कोभिड संक्रमित बिरामीलाई कहाँ राख्ने भन्ने विषयमा अझै स्पष्टता आइसकेको छैन।
प्रकाशित मिति: १७ असार २०८२, मंगलबार












प्रतिक्रिया