स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व समुदायलाई हतियार र युद्धका तयारीमा होइन, जनताको समृद्धि, विकास र शान्तिमा लगानी गर्न आग्रह गरेका छन्।
स्पेनको सेभिया शहरमा आयोजित ‘अन्तर्राष्ट्रिय विकास सहयोगको पुनर्जीवन’ विषयक उच्चस्तरीय गोलमेच सम्मेलनलाई सह-अध्यक्षको रूपमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दाता राष्ट्रहरूप्रति गम्भीर असन्तुष्टि व्यक्त गरे। उनले शरणार्थीमाथि गरिएको खर्चलाई विकास सहायता भनेर देखाउने प्रवृत्तिले वास्तविक सहयोगबाट पन्छिन खोजिएको आरोप लगाए।
प्रधानमन्त्री ओलीले स्पष्ट शब्दमा भने, “हामी सिद्धान्तका कुरा होइन, व्यवहारमा प्रतिबद्धता पूरा गर्न चाहन्छौं।”
उनले विकास सहयोगलाई कुनै दान वा परोपकार होइन, रणनीतिक आवश्यकता र नैतिक जिम्मेवारीको रूपमा बुझ्न आग्रह गरे।
प्रधानमन्त्री ओलीका अनुसार आजको विश्व बहु आयामिक संकटबाट गुज्रिरहेको बेला हो र यतिखेर सहयोगको खाँचो झनै बढेको छ। तर त्यही बेलामा सहायता घट्दै जानु र त्यसको स्वरूप नै परिवर्तन हुँदै जानु गम्भीर चिन्ताको विषय भएको उनको भनाइ थियो।
नेपालको अनुभव प्रस्तुत गर्दै उनले पछिल्लो केही वर्षमा वैदेशिक विकास सहायता निरन्तर घट्दो क्रममा रहेको बताए। खासगरी अनुदानको हिस्सा घट्दै जानु अझै गम्भीर चुनौती भएको उनको टिप्पणी थियो।
“सहयोगको प्रभावकारितामा मात्र जोड दिएर त्यो अपर्याप्ततालाई छोप्न सकिँदैन,” उनले स्पष्ट पारे, “किनभने प्रभावकारिताले अपर्याप्तताको क्षतिपूर्ति गर्न सक्दैन।”
उनले विकास सहायता छर्ने, राष्ट्रिय प्रणालीलाई उपेक्षा गर्ने र प्राथमिकता परिवर्तन गर्ने प्रवृत्तिले सहायता प्रभावहीन बनाएको आरोप लगाए।
प्रधानमन्त्री ओलीले विकास सहायता अनुदान वा अत्यधिक सहुलियतपूर्ण ऋणको स्वरूपमा आउनुपर्ने, त्यो सहायता सम्बन्धित राष्ट्रको प्रणालीमार्फत परिचालन हुनुपर्ने, र जलवायु वित्त नयाँ तथा अतिरिक्त स्रोतबाट सुनिश्चित गरिनुपर्नेमा जोड दिए।
प्रकाशित मिति: १७ असार २०८२, मंगलबार













प्रतिक्रिया