काठमाडौं । अखिल (क्रान्तिकारी) भित्रको आन्तरिक नेतृत्व विवाद पोखरा विश्वविद्यालय अन्तर्गत रहेको कसमस कलेजको इकाइ सम्मेलनमै प्रकट भएपछि संगठनको तीन महिनाको संगठन सुदृढीकरण तथा विस्तार अभियान नै संकटमा परेको छ। पोखरा विश्वविद्यालय उपत्यका जिल्ला समितिको मातहत रहेको कसमस मूल इकाइ समितिको १२औं इकाइ सम्मेलन भाँडिएपछि संगठनको उच्च तहमा समेत आरोप–प्रत्यारोप चुलिएको छ।
यही असार २० गतेका लागि निर्धारित सम्मेलनको उद्घाटन सत्र सुरु हुन लाग्दा केन्द्रीय अध्यक्षको निर्देशनमा संगठनबाहिर रहेका (काभ्रेली संधिहरु भनेर सामाजिक संजालमा उत्सृङ्खल गतिविधि देखाउने) अराजक प्रवृत्तिका व्यक्तिहरूलाई हलमा पठाएर कार्यक्रमको ब्यानर र झण्डा च्यातिएको भन्दै अखिल (क्रान्तिकारी) विश्वविद्यालय प्रदेश समिति र पोखरा विश्वविद्यालय उपत्यका जिल्ला समितिले संयुक्त रूपमा कडा आपत्ति जनाएका छन्।
विज्ञप्तिमा केन्द्रीय अध्यक्ष विजयप्रकाश सापकोटामाथि नै आफ्नै संगठनको सम्मेलन भाँड्न निर्देशन दिएको गम्भीर आरोप लागेको छ। उक्त सम्मेलनमा केन्द्रीय उपाध्यक्ष तथा कमाण्ड इन्चार्ज सन्दिप पुन, संगठनका पुर्व नेताहरु जीवन खड्का, बेनुप खत्री, उपमहासचिव तथा प्रदेश इन्चार्ज जटिल कार्की, केन्द्रीय सचिव युन्छोहाङ माबो लिम्बु, केन्द्रीय सदस्य तथा पोखरा विश्वविद्यालय उपत्यका जिल्ला इन्चार्ज अनुप पाण्डे लगायतका नेताहरूको उपस्थिति रहे पनि कार्यक्रम सुरु हुनै नपाई तोडफोड गरिएको थियो। स्रोतका अनुसार तोडफोडमा क्रान्तिकारीको निर्वाचनमा लज्जास्पद हार बेहोरेका एक पदाधिकारीका उम्मेदवार समेत थिए । उपाध्यक्ष देउमा जैशी दिपाको पोस्टमा बैनी भन्दै कमेन्ट गर्न पुगेका उपमहासचिवमा पराजित निज व्यक्तिलाई जैशीले ”काभ्रेलि सम्धिको भरमा समान्तर गतिविधि गर्नेहरु कतिको पाको छ्न असोज देखि हिजो सम्म हेर्दैछु” भन्दै जवाफ फर्काएकी छन्।
यसअघि असार १६ गते संयोजक नवीन अवस्थीको अध्यक्षतामा सम्पन्न बैठकले ५१ सदस्यीय सम्मेलन आयोजक समिति सर्वसम्मत रूपमा गठन गरेको थियो। तर, सम्मेलनको केही दिनअघि कसमस मूल इकाइको नाममा अर्को समिति घोषणा गरिएको र यसमा केन्द्रीय अध्यक्ष स्वयंको निर्देशन रहेको आरोप लगाइएको छ।
उक्त घटनापछि विद्यार्थीहरूमाझ सुरु गरिएको तीन महिनाको संगठन सुदृढीकरण अभियान नै नेतृत्वस्तरबाट स्थगन गरिएपछि स्थिति थप जटिल बनेको छ। अध्यक्ष सापकोटाले अभियान स्थगनको घोषणा गरेलगत्तै उपाध्यक्ष तथा अभियान कमाण्ड सन्दिप पुनले सार्वजनिक अपिल जारी गर्दै अभियान रोकिनु गम्भीर रणनीतिक कमजोरी भएको बताए।
अपिलमा पुनले होचि मिन्हको भनाई उद्धृत गर्दै भनेका छन्, “गद्दारले धोका दिन्छ, कायरले घुँडा टेक्छ, बहादुर लड्छ, र इमानदार अघि बढ्छ।” उनले शिक्षा राष्ट्रको मेरुदण्ड भएको स्मरण गराउँदै विद्यार्थीका समस्यालाई निरन्तर आन्दोलन र समाधानसँग जोड्न संगठनले पुनरावलोकन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
उनले प्रश्न उठाएका छन् — “के प्रत्येक शैक्षिक समस्याको समाधान दिन हाम्रा झण्डाहरू तयार छन्?” अभियान नरोकिनु पर्ने उल्लेख गर्दै उनले १० लाख युवालाई संगठनले भर्न सक्ने रणनीतिक योजनाको खाँचो औंल्याए।
पुनको अपिलमा विद्यार्थी संगठनको सीमितता, वैचारिक कमजोरी र नेतृत्वको दिशाविहीनता प्रति गहिरो असन्तोष प्रकट गरिएको छ। उनले स्पष्ट रूपमा भनेका छन्, “यदि हामी साँच्चै विद्यार्थीका पक्षमा छौं भने, अभियानहरू बीचमै रोकिनु हुँदैन, बरु अझ सशक्त रूपमा अगाडि बढ्नुपर्छ।”
संगठनभित्रको यस घटनाले अखिल (क्रान्तिकारी) को विश्वसनीयता र एकतालाई गम्भीर चुनौती दिएको छ। एकातर्फ संगठनभित्रको विवाद सतहमा आएको छ भने अर्कोतर्फ हजारौं विद्यार्थी अभियानको बीचमै अलमलमा परेका छन्। संगठनले नेतृत्वगत असहमति समाधान गर्दै विद्यार्थीका मुद्दा सम्बोधनतर्फ एकीकृत रणनीति अवलम्बन गर्न सक्दो चाँडो कदम चाल्नुपर्ने देखिन्छ। अन्यथा, संगठनभित्रकै अस्थिरता र अविश्वासले विद्यार्थी आन्दोलनको भविष्य नै अन्योलमा पर्ने संकेतहरू देखिन थालेका छन्।
अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलनमा हेडक्वार्टर भन्न रुचाउने शक्ति समूहलाई जिताउन लागि परेको तर इतर समूह मानिने जनार्दन शर्मा पक्षको छर्लंग बहुमत भएकाले फ्रर्याक्सन इन्चार्ज र सह-इन्चार्जले समेत इकाईको सम्मेलन रोक्नको लागी तारन्तार व्यक्ति व्यक्तिलाई फोन गरेका थिए। शर्मा पक्षधरले स्ववियु निर्वाचनको खर्च विवरणलाई जोडतोडले उठाएका कारण शक्ति बस्नेत, हिमाल शर्मा, पंचा सिंहले सम्मेलन रोक्न बलबुताले भ्याएसम्मको प्रयास गरेका थिए। अभियान पक्षधर भनिएका पुनको पक्षमा जनार्दन शर्माको प्यानलबाट निर्वाचन जितेका २३ जना र थप अरु केहि पदाधिकारी भएको बताईन्छ । अभियान स्थगित गर्ने अध्यक्ष सापकोटाको पक्षमा उपाध्यक्ष दिपा जैशी, सचिव शिशिर बस्याल मात्र भएको बुझिन्छ । हेडक्वाटर टिम कै भनिएपनि बिना सल्लाह निर्णय आएको र बागमती कमाण्ड जस्तो महत्वपुर्ण जिम्मेवारी पाएका मदन ढकाल बेखुश छन् । पुर्व बादल समूहबाट उपाध्यक्ष जितेका अटल आचार्यले मुख खोलेका छैनन् । उपाध्यक्ष बिराज थापाले सामाजिक संजालमा प्रतिक्रिया दिंदै भनेका छन्, ‘विद्यार्थी आन्दोलनको बारे उठाउनु भएको कुरा विचारणीय छ । सामाजिक संझालमा भन्दा बैठकमा प्रस्ताव गर्नुभएको भए अझ ओझिलो हुन्थ्यो । यो प्रस्तावले बहसको माग गर्छ ।’
प्रकाशित मिति: २२ असार २०८२, आइतबार













प्रतिक्रिया