काठमाडौं । रुसले युक्रेनविरुद्धको लडाइँमा नयाँ उपलब्धि हासिल गरेको दाबी गरेलगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार युक्रेनमा थप हतियार पठाउने घोषणा गरेका छन् । जबकि वासिङ्टनले गत साता मात्रै किएभलाई हतियार ढुवानी रोकेको बताएको थियो ।

तीन वर्षभन्दा लामो समयदेखि चलिरहेको रुस–युक्रेन लडाइँमा किएभका लागि यो रोकावटले सम्भावित गम्भीर चुनौती खडा गरेको थियो । युक्रेनले रुसका क्षेप्यास्त्र र ड्रोन आक्रमणको लगातार सामना गर्दै आइरहेको छ ।

advertisement

‘हामीले थप हतियारहरू पठाउनुपर्नेछ, मुख्यतया रक्षात्मक हतियारहरू’, ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूसँग भने, ‘उनीहरू (युक्रेनी) लाई धेरै, धेरै चोट लागेको छ ।’ पछिल्लो समय रुस र युक्रेनबीच युद्धविरामको पहलकदमी गरिरहेका उनले यति बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग ‘खुसी नभएको’ पनि बताएका छन् ।

२०२२ देखि सुरु रुस–युक्रेन लडाइँलाई ट्रम्पको दबाबका बाबजुद द्वन्द्व अन्त्य गर्न पुटिनले पनि इच्छा देखाएको बताइएको थियो । तर मस्कोले सोमबार आफ्ना सुरक्षा बलहरूले युक्रेनको मध्य डनिप्रोपेत्रोभस्क क्षेत्रमा रहेको डाच्ने गाउँ कब्जा गरेको बताएपछि अमेरिकी राष्ट्रपतिले युक्रेनलाई थप हतियारहरू पठाउने घोषणा गरेका हुन् ।

ट्रम्पको घोषणा हुनुअघि रुसले युक्रेनका सैन्य भर्ती केन्द्रहरूलाई लक्षित गर्दै ठूलो मात्रामा ड्रोन र मिसाइल आक्रमण सुरु गरेको थियो । किएभले पनि मस्को क्षेत्रमा रहेको रुसी गोलाबारुद कारखानामा ड्रोन आक्रमण गरेको दाबी गरेको छ । रुसले कब्जा गरेको भनिएको डाच्ने गाउँ युक्रेनको एक महत्त्वपूर्ण औद्योगिक खानी क्षेत्र हो ।

प्रकाशित मिति: २५ असार २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com