काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको समग्र विकासका लागि शिक्षालाई गाउँ–टोल र दुर्गम भेगसम्म विस्तार गर्नुपर्ने स्पष्ट पारेका छन्।
बुधबार काठमाडौंमा आयोजित एक शैक्षिक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले वैज्ञानिक, प्राविधिक र व्यवसायिक शिक्षामा राज्यको उच्च प्राथमिकता आवश्यक रहेको उल्लेख गरे। उनले भने, “यदि यी क्षेत्रमा लगानी नगर्ने हो भने युवा पुस्ता सीप सिकेर रोजगारी प्राप्त गर्ने अवसरबाट वञ्चित हुन्छ।”
उनका अनुसार सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर मात्र होइन, भौतिक पूर्वाधार र आवश्यक सुविधाहरूको समेत व्यापक सुधार गर्नुपर्ने अवस्था छ। “दुर्गम क्षेत्रमा अझै पनि शिक्षामा पहुँच चुनौतीपूर्ण छ। पूर्वाधार विकास, खेल सामग्री, अनुशासन र सिकाइ सामग्रीको उपलब्धता जस्ता विषयमा ध्यान दिनुपर्छ,” उनले जोड दिए।
देउवाले शिक्षा नवप्रवर्तन र प्राविधिक शिक्षाको पहुँच अभिवृद्धि गर्न शैक्षिक सचेतनामूलक कार्यक्रमहरू महत्वपूर्ण हुने विश्वास व्यक्त गरे। उनले भने, “यदि हामीले यी सबै पक्षलाई सन्तुलित ढंगले अगाडि बढायौं भने शिक्षा क्षेत्रको आमूल परिवर्तन सम्भव छ।”
उनले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकारको ध्यान आकर्षण आवश्यक रहेको र व्यवसायिक शिक्षाको प्रवर्द्धन राज्यको जिम्मेवारी हो भन्ने धारणा व्यक्त गरे। “शिक्षा कुनै विलासी कुरा होइन, यो विकासको मेरुदण्ड हो। यसलाई प्राथमिकतामा नराख्ने हो भने मुलुकको भविष्य अध्यारो हुन्छ,” देउवाले भने।
उनले अन्त्यमा शिक्षाको पहुँच मुलुकका कुनाकाप्चासम्म पुर्याउनु आजको टड्कारो आवश्यकता भएको पुनः दोहोर्याए।
प्रकाशित मिति: ३२ असार २०८२, बुधबार












प्रतिक्रिया