काठमाडौं । वैदेशिक रोजगारीका नाममा हुने ठगी बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०८१, ८२ मा १२ हजार ७९० उजुरी दर्ता भएका छन् । गत आव २०८०, ८१ मा सात हजार ७६३ वटा उजुरी दर्ता भएका थिए । जुन सङ्ख्या गत आवको तुलनामा पाँच हजार २७ वटा अर्थात् करिब ४० प्रतिशतले बढी हो ।
वैदेशिक रोजगारीमा जाने अधिकांश युवा घरगाउँकै दाजुभाइ, दिदीबहिनी, आफन्त र सहरका वैदेशिक रोजगार व्यवसायी कम्पनी, ट्राभल एजेन्सी, एजुकेसन कन्सल्टेन्सीलगायतबाट ठगिने गरेका छन् । यसरी ठगीमा पर्ने सबैको तथ्याङ्क भने भेटिँदैन ।
विभागका अनुसार यस अवधिमा सबैभन्दा बढी उजुरी मुद्दा र अनुसन्धान शाखामा पाँच हजार ६३२ वटा उजुरी दर्ता भएका छन् । यस अवधिमा दर्ता भएका उजुरीमध्ये ५२८ वटाको मिलापत्र र २६७ वटा अदालतमा मुद्दा दायर भएको विभागले जनाएको छ । सो अवधिमा मिलापत्र गराउँदा पीडकबाट पीडितलाई क्षतिपूर्तिबापत ३२ करोड आठ लाख ७३ हजार ४६५ रुपियाँ भराइएको विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार यस शाखामा सो अवधिमा परेका उजुरीमध्ये चार हजार ९३७ वटा उजुरी छानबिन गर्ने काम भइरहेको छ ।
विभागका अनुसार सो अवधिमा विभागमा रहेको प्रहरी शाखामा पाँच हजार ३३७ वटा उजुरी दर्ता भएका छन् । जसमध्ये चार हजार ८७६ वटा उजुरी फस्र्योट भए भने १२ वटा उजुरीमा मिलापत्र गराइएको छ ।
प्रकाशित मिति: ११ श्रावण २०८२, आइतबार













प्रतिक्रिया