काठमाडौं । नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को ठुलो महिला क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ। सन् २०२६ मा इंग्ल्याण्ड र वेल्समा हुने महिला टी-२० विश्वकपका लागि ग्लोबल छनोट अब नेपालमै हुनेछ।
आईसीसीले बिहीबार जारी गरेको सूचनाअनुसार ग्लोबल छनोट सन् २०२६ जनवरी १२ देखि फेब्रुअरी २ सम्म नेपालमा सञ्चालन हुनेछ। १० राष्ट्र सहभागी हुने यस प्रतियोगिताबाट शीर्ष चार टोलीले विश्वकपमा स्थान सुरक्षित गर्नेछन्।
यो नेपालले आयोजना गर्न लागेको हालसम्मकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता हुनेछ ।
ग्लोबल छनोटमा बंगलादेश र आयरल्याण्ड स्वतः सहभागी हुने छन्, उनीहरूले २०२४ महिला टी-२० विश्वकपमा खेलेको आधारमा सिधा छनोट पाएका हुन्। एशिया क्षेत्रीय छनोट पार गर्दै नेपाल र थाइल्याण्डले आफ्नो स्थान सुरक्षित गरेका छन्। नेपालले पहिलोपटक एसियाली चरण पार गरेर ग्लोबल छनोटमा प्रवेश गरेको हो।
अमेरिकाले अमेरिका क्षेत्रबाट स्थान बनाइसकेको छ भने अफ्रिका र युरोपबाट दुई-दुई टोली तथा इस्ट एसिया-प्यासिफिक क्षेत्रबाट एक टोली छनोट हुनेछन्। यी टोलीहरूको टुंगो आगामी क्षेत्रीय छनोटपछि लाग्नेछ।
ग्लोबल छनोटको ढाँचा अनुसार सहभागी टोलीहरूलाई दुई समूहमा विभाजन गरिनेछ। समूह चरणपछि सुपर सिक्स चरण हुँदै अन्तिम फाइनल खेल हुनेछ।
प्रतियोगिताको विस्तृत खेल तालिका आगामी दिनमा सार्वजनिक गरिने आईसीसीले जनाएको छ।
प्रकाशित मिति: १५ श्रावण २०८२, बिहिबार













प्रतिक्रिया