काठमाडौं । सात वर्षअघि भएको निर्मला पन्तको बलात्कार र हत्याको जघन्य अपराधले नेपाली समाजमा गहिरो घाउ छाडेको छ। यो घटना केवल एउटि बालिकाको हत्या मात्र नभई नेपालको न्यायिक प्रणाली, प्रहरी प्रशासन र राजनीतिक नेतृत्वको चरम असफलताको ज्वलन्त उदाहरण पनि हो। यस्तो संवेदनशील र पीडादायी घटनामाथि न्यायको खोजी जारी रहँदा केही ‘युट्युबर’ र ‘कन्टेन्ट क्रिएटर’ हरूले यसलाई आफ्नो व्यक्तिगत लाभको साधन बनाउँदै आएका छन्। यो प्रवृत्तिले पत्रकारिताको न्यूनतम मापदण्ड र मानवीय संवेदनालाई निर्ममतापूर्वक कुल्चेको छ। यसै सन्दर्भमा, युट्युबर टंक दाहालले निर्मला पन्त प्रकरणलाई लिएर बनाएको पछिल्लो भिडिओले ठूलो आलोचना खेपिरहेको छ। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले दाहालमाथि ‘भ्युजको खेती’ गरेको र ‘सस्तो विश्लेषण’ मा उत्रेको जनाएका छन्। युटुबर टंक दाहालको युटुब कन्टेन्ट सत्यको खोजी नभई केवल ‘क्लिकबेट’ र ‘भाइरल’ हुने अनैतिक होडबाजी मात्र हो भन्ने निर्मला पन्तको विषयमा उनले बनाएको पछिल्लो भिडिओले प्रष्ट देखाउँछ। उनको भ्युजको खेतीले समाजमा झन नकारात्मक प्रभावहरू पारिरहेको देखिन्छ। तर, समाजको अन्धभक्तीपनले पपुलिष्ट बन्न विभिन्न हत्कण्डा अपनाउनेहरुलाई मलजल पुगेको छ।
निर्मला पन्त घटनाको समयमा धेरै युटुवर र अभियन्ताहरु जन्मिए, जसको आ-आफ्नै स्वार्थ थिए। कतिपय युटुवरहरु समाजलाई भ्रमित पार्ने र डलरको खेती गर्न तल्लिन थिए। कतिपय अभियान्ताहरु मनगणन्ते अन्तर्वार्ता दिएर भाईरल हुन व्यस्त थिए। रवि लामिछानेले पनि ‘पब्लिक सेन्टिमेन्ट’ तान्न विभिन्न हत्कण्डा अपनाए र उनको यात्रा उपप्रधानमन्त्री तथा गृहमन्त्रीसम्म आइपुग्यो। तर, उनी ‘टेलिभिजन सो’मा जे बोल्थे त्यो पूरा गर्न सकेनन्। अर्थात् आफू गृहमन्त्री हुँदापनी निर्मला पन्त बलात्कारगरी हत्या गर्ने अपराधी पक्रन सकेनन्। उक्त समयमा लामिछानेले पनि आफू ‘पपुलिस्ट’ हुने कुनै मौका छाडेनन्। अहिले सोही हत्कण्डा अपनाएर समाजमा भ्रमसिर्जना गर्दैछन् ‘पपुलिस्ट’ बन्ने बाटोमा लागेका टंक दाहाल ।
एक जघन्य अपराध र सात वर्षपछि ब्युँताइएका भ्रमहरूको ‘खेलाची’
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या भएको सात वर्ष बितिसक्दा पनि पीडित परिवारले न्याय पाएको छैन। यो घटना नेपालको इतिहासमा एउटा कालो धब्बा बनेको छ, जहाँ राज्यका हरेक संयन्त्र प्रहरी, न्यायपालिका र राजनीतिक नेतृत्व असफल प्रमाणित भए। अनुसन्धानमा भएको चरम लापरवाही, प्रमाणमाथि छेडखानी र राज्यको जवाफदेहिताको अभावले जनतामा न्यायप्रणालीप्रति नै ठूलो अविश्वास पैदा गर्यो। यही अविश्वासको मौका छोपेर दाहालजस्ता केही व्यक्तिहरूले यो संवेदनशील विषयलाई ‘भ्युज’ र ‘क्लिकबेट’ को लागि प्रयोग गरे। यो प्रवृत्तिले आम नागरिकमा रहेको सत्यको चाहनालाई आफ्नो व्यापारको साधन बनाइरहेको छ जुन अत्यन्तै नैतिकहीन कार्य हो।
यस घटनालाई सामाजिक सञ्जालमा ‘ब्युँताउने’ काम गर्नेहरूले पीडित परिवारको गहिरो पीडालाई निर्लज्जतापूर्वक बेवास्ता गरेका छन्। उनीहरूले नयाँ तथ्य वा प्रमाणको खोजी गर्नुको साटो वर्षौंदेखि चलिरहेका अपुष्ट हल्ला र षड्यन्त्रका सिद्धान्तहरूलाई आधार बनाएर सामग्री उत्पादन गरिरहेका छन्। यो कार्यले न्यायको दिशामा हुनुपर्ने सार्वजनिक बहसलाई भड्काएर अझै अन्योल सिर्जना गरेको छ। निर्मलाको परिवारको घाउमा नुन छर्केर, त्यसैको व्यापार गर्ने यो कलालाई संचारजगतले ‘खोजी पत्रकारिता’ भन्नुपर्ने हो कि ‘खोजी व्यापारीकरण’? यस प्रकारको ‘खेलाची’ ले निर्मलाको परिवारलाई हरेक वर्ष न्यायको आशा र निराशाको चक्रमा घुमाइरहन्छ। यो वास्तवमा न्यायको खोजीभन्दा पनि मानवीय संवेदनाको व्यापार हो, जसले समाजमा ‘भाइरल’ हुन चाहनेहरूको भीड बढाइरहेको छ।
टंक दाहालको ‘सनसनीपूर्ण’ विश्लेषण र आलोचनाका स्वरहरू
टंक दाहालले कन्चनपुरकी नाबालिका निर्मला पन्तको बलात्कार र हत्याको जघन्य अपराधको विषयमा आफ्ना दुवै भिडिओमा ‘अहिलेसम्म लुकाइएको र नखुलेको कुरा!’ जस्ता सनसनीपूर्ण शीर्षक राखेर लाखौ दर्शकलाई आकर्षित गरे। उनले घटनाको सात वर्षपछि पनि कुनै नयाँ तथ्य वा प्रमाण प्रस्तुत नगरी, पुराना ‘हल्ला’ र ‘षड्यन्त्रका सिद्धान्त’ (Conspiracy Theories) माथि टेकेर आफ्नो विश्लेषण अघि बढाएका छन्। दाहालले निकालेका चार निष्कर्ष प्रहरीको लापरवाही, प्रमाणमाथि छेडखानी, राज्यको ‘नाङ्गो नाच’ र अपराधमाथिको राजनीति कुनै नौला कुरा होइनन्। यी सबै विषयमा सात वर्षअघि नै मिडिया र सामाजिक सञ्जालमा पर्याप्त बहस भइसकेको छ। यसरी एउटै विषयलाई बिना कुनै नयाँपन दोहोर्याइरहनु पत्रकारिता नभई ‘कन्टेन्ट रिसाइकलिङ’ मात्र हो जसले दर्शकलाई भ्रमको दलदलमा धकेल्छ।
उनले भिडियोमा ‘भीआईपी’ मानिसको संलग्नता हुन सक्ने जिकिर पटक-पटक गरेका छन् तर त्यसको कुनै ठोस आधार प्रस्तुत गर्न सकेका छैनन्। राजनीतिक नेतृत्वप्रति जनतामा चुलिएको निराशालाई आफ्नो ‘फाइदा’ को लागि प्रयोग गर्दै दाहालले घटनालाई जबरजस्ती राजनीतिकरण गर्ने प्रयास गरेको देखिन्छ। यसरी, बिना कुनै प्रमाण, केवल ‘रे’ को भरमा भीआईपीको नाम जोडेर भ्युज कमाउने धन्दाले पीडित परिवारको घाउमा नुन छर्कने काम मात्रै गरेको छ। यसै विषयमा खोज पत्रकारिता केन्द्रका सम्पादकले भने जस्तै, अरूले मेहनत गरेर तयार पारेको समाचारलाई तोडमोड गरी सामग्री बनाउनु ‘खोजी पत्रकारिता’ होइन। महिनौँ फिल्डमा खटिएर अनुसन्धान गर्ने वास्तविक खोज पत्रकारहरू र एउटा कोठामा बसेर पुराना समाचारका अंशहरू जोडेर भिडियो बनाउने युट्युबर बीचको भिन्नता यही हो।
अन्वेषणकर्ताहरूको जवाफ: भ्रम कि यथार्थ?
निर्मला पन्तको घटनामा गहन अनुसन्धान गरेका पत्रकार र अनुसन्धानकर्ताहरूले दाहालको दाबीलाई ठाडै खारेज गरेका छन्। अनुसन्धानमा संलग्न व्यक्तिहरूका अनुसार दाहालको भिडियोमा कुनै नयाँ तथ्य छैन, यो त सात वर्षअघि चलेका अपुष्ट हल्लाहरूको पुनरावृत्ति मात्र हो। भीआईपीको संलग्नताको हल्लालाई महिनौ लामो अनुसन्धान पछि सत्य नभएको निष्कर्ष निकालिएको थियो। यद्यपि, यस विषयमा आधिकारिक अनुसन्धानले भीआईपी संलग्नताको ठोस प्रमाण फेला पार्न नसक्दा यो पक्ष अझै अस्पष्ट छ। यही अस्पष्टतालाई दाहाल जस्ता युट्युबरहरूले आफ्नो भिडियोलाई सनसनीपूर्ण बनाउन प्रयोग गरिरहेका छन्, जसले भ्रम फैलाउने र सत्यको खोजीलाई थप जटिल बनाएको छ। यस्ता तर्कहीन ‘सनसनी’ र ‘खोजी पत्रकारिता’को नाममा गरिने नौटङ्कीले समाजको न्याय प्रणालीलाई कमजोर बनाउँछ। एक युट्युबरले केवल ‘रे’ को भरमा खोज पत्रकारिताकै गलत अभ्यासगरी ठोस प्रमाण बिना अपराधी पत्ता लागेको शैलीमा टाइटल र थमनेल बनाउनु उनको नियतमाथि नै गम्भीर प्रश्न खडा हुन्छ। यो कार्यले पीडित परिवारको पीडालाई व्यापारको साधन बनाउने मात्र नभई न्यायको दिशालाई समेत भड्काउने काम गरेको छ।
दाहालले भिडिओमा बम दिदीबहिनी (रोशनी र बबिता) माथि पर्याप्त अनुसन्धान नगरिएको भन्दै शंका गरेका छन्। तर, अनुसन्धानकर्ताहरू यसमा पनि सहमत छैनन्। उनीहरू भन्छन्, “बम दिदीबहिनीहरू माथि हल्लाबाजहरूले भनेजस्तो अनुसन्धान नै नभएको होइन। विस्तृत अनुसन्धान भएको थियो, प्राविधिक र म्यानुअल दुवै।” प्रहरीले उनीहरूमाथि गल्तीको कुनै क्लु नभेटेपछि मात्रै थुन्न नसकेको उनको भनाइ छ। यसैगरी, दाहालले भिडियोमा अम्बाको रुख काटिएको र कोठामा रङ लगाइएको विषयलाई पनि प्रमाण नष्ट गर्ने प्रयासको रूपमा प्रस्तुत गरेका छन्। तर, खोज पत्रकार र अनुसन्धानकर्ताहरु यो पनि हल्ला मात्र भएको र स्थलगत रिपोर्टिङका क्रममा यसको यथार्थता बुझेको बताएका छन्। निर्मलाको शरीरमा रगत बग्ने घाउ नभएकाले भित्तामा रङ लगाएर रगत मेटाएको भन्ने तर्क नै गलत भएको उनको भनाइ छ।
नयाँ पुस्ताको ‘रवि लामिछाने’ र सामाजिक दायित्वको प्रश्न
निर्मला पन्तको घटनालाई लिएर भ्रम फैलाउने र सनसनीपूर्ण सामग्री बनाउने काम टंक दाहालले मात्रै गरेका होइनन्। ६ वर्षअघि तत्कालीन टिभी प्रस्तोता रवि लामिछानेले पनि आफ्नो कार्यक्रममार्फत यही शैली अपनाएका थिए। उनले ‘दिलीप बिष्टनै दोषी’ भएको अडान लिदै ‘सनसनीपूर्ण’ एपिसोड प्रसारण गरेका थिए, जसले थप अन्योल र भ्रम फैलाएको थियो। यस घटनामा जसरी सनसनीपूर्ण सामग्रीको ओइरो लाग्यो, त्यसले न्यायको प्रक्रियालाई असहज बनाउनुका साथै जनताको विश्वासमा थप प्रश्न खडा गर्यो।
लामिछानेले पछि आफ्नो कार्यक्रममा माफी माग्दै अनुसन्धानलाई प्रभावित पारेको भए आफू सजायको भागीदार हुन तयार रहेको बताएका थिए। तर, दाहालको भिडिओमा यस प्रकारको कुनै जिम्मेवारीको झलक पाइँदैन। उनले पुरानै ‘षड्यन्त्रका सिद्धान्त’ लाई ब्युँताएर समाजमा द्वेष र अविश्वासको खेती मात्र गरिरहेका छन्। “साँचो अनुसन्धान भनेको भ्युज बढाउनु होइन, अपपुलर सत्यसँग आँखा जुधाउनु हो।” तर, दाहाल जस्ता युट्युबरहरूले त्यो आँट देखाएका छैनन्। उनीहरूले आफूलाई ‘खोज पत्रकार’ को रूपमा प्रस्तुत गरेर समाजमा ‘भ्रम’ र ‘षड्यन्त्र’को विषाक्त घोल फैलाइरहेका छन्। विश्लेषकहरूका अनुसार “रिसर्च गर्दा सुरुमै आफ्नो ‘प्रि-अकुपाइड हाइपोथेसिस’ बोक्दा उही न्यारेटिभलाई सपोर्ट गर्ने रिसोर्स मात्र अगाडि आउँछन् र तिनै प्रयोग हुन्छन्।” दाहालले पनि यही गल्ती गरेका छन्। उनले सुरुमै ‘भीआईपी संलग्न छन्’ भन्ने धारणा बनाएर त्यहि हल्लाहरूलाई जोडेर आफ्नो भिडिओ तयार गरेका छन्।
‘जघन्य अपराध’ माथिको व्यापार कहिलेसम्म?
निर्मला पन्त प्रकरण जस्तो संवेदनशील मुद्दामाथि भिडिओ बनाएर लाखौ ‘भ्युज’ र पैसा कमाउनु नैतिक हिसाबले कत्तिको सही हो? पीडित परिवार सात वर्षदेखि न्यायको प्रतीक्षामा छ। तर, केही युट्युबरहरूले उनीहरूको पीडालाई आफ्नो व्यापारको साधन बनाएका छन्। जब कुनै नयाँ तथ्य बाहिर आउँदैन, तब पटक-पटक पुरानै कथालाई ‘सनसनीपूर्ण’ शीर्षक दिएर प्रस्तुत गर्नुले पीडित परिवारको घाउलाई ताजा बनाउने बाहेक अरू केही काम गर्दैन। यस्ता ‘युट्युबर’हरूले अनुसन्धानमा सहयोग गर्नुको सट्टा भ्रम र शंका फैलाएर न्याय प्रक्रियालाई झन् जटिल बनाइरहेका छन्।
यस्ता अनैतिक कृयाकलापले जनताको न्यायप्रणालीमाथिको विश्वासलाई थप कमजोर बनाउँछ र वास्तविक अपराधीलाई लुक्ने मौका दिन्छ। निर्मला पन्तको आत्माले शान्ति पाउन र उनको परिवारले न्याय पाउनु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। त्यसैले, हरेकले यस्ता संवेदनशील विषयमाथि भिडिओ बनाउनुअघि आफ्नो सामाजिक दायित्व र नैतिकताको बारेमा गम्भीरता पूर्वक सोच्नु जरुरी छ। अन्यथा, यो जघन्य अपराध माथिको व्यापार सधै जारी रहि रहनेछ।
प्रकाशित मिति: २१ श्रावण २०८२, बुधबार













प्रतिक्रिया