काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नै पार्टीका गृहमन्त्री रमेश लेखकप्रति गम्भीर प्रश्न उठाएका छन्। उनले सहकारी ठगी प्रकरणमा फरार रहेका जीवी राईलाई कारबाहीको दायरामा ल्याउन गृह मन्त्रालयले किन आवश्यक पहल नगरेको भन्दै संसदमा गृहमन्त्रीसँग जवाफ माग गरेका हुन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै शर्माले राईका दुई सहयोगी – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व प्रहरी नायब महानिरीक्षक छविलाल जोशी – पक्राउ परे पनि ठगी प्रकरणका प्रमुख अभियुक्त राई भने अझै उन्मुक्त रहेकोप्रति आश्चर्य प्रकट गरे। उनले प्रश्न गरे, “राईका दुई जना साझेदार जेलमा छन्, तर उनलाई मलेसियाबाट नेपाल ल्याउने प्रक्रिया किन अझै निष्कर्षमा पुगेको छैन?”
महामन्त्री शर्माले जीवी राई फरार भएको धेरै समय भइसकेको र यसबीचमा तीनजना गृहमन्त्रीले जिम्मेवारी सम्हालेको भए पनि कुनैले पनि उनलाई नेपाल फर्काएर कानुनी कारबाहीमा ल्याउन नसकेको उल्लेख गरे। यसलाई उनले सरकारको कूटनीतिक तथा प्रशासनिक कमजोरीको उदाहरणका रूपमा प्रस्तुत गरे।
“हामी हजारौँ नेपालीलाई ठग्ने टिमको मुख्य पात्रलाई मलेसियाबाट फर्काएर कारबाही गर्न असफल छौँ भने हाम्रो कूटनीतिक क्षमता केमा छ?” शर्माले कटाक्ष गर्दै भने।
त्यस्तै, उनले सरकारले सहकारी पीडितलाई राहतस्वरूप पाँच लाख रुपैयाँसम्मको क्षतिपूर्ति उपलब्ध गराउने निर्णय अध्यादेशमार्फत गरिसकेको भए पनि त्यसको कार्यान्वयनमा कुनै प्रगति नदेखिएकोप्रति पनि असन्तोष व्यक्त गरे।
“निर्णय त गरियो, तर पीडितले राहत पाएनन् भने त्यो निर्णयको के अर्थ रहन्छ?” भन्दै उनले सरकारले तत्काल पीडितको हितमा ठोस कदम चाल्नुपर्ने माग राखे।
महामन्त्री शर्माको भनाइले सहकारी ठगी प्रकरणमा सरकारको निष्क्रियता, ढिलासुस्ती र कूटनीतिक असफलता प्रति गम्भीर प्रश्न खडा भएको छ।
प्रकाशित मिति: २२ श्रावण २०८२, बिहिबार













प्रतिक्रिया