काठमाडौं । आगामी साउन २७ गते (अगस्ट १२) मनाइने अन्तर्राष्ट्रिय युवा दिवसको मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने भएका छन्।

‘दिगो विकास र सुनौलो भविष्यको सार: स्थानीय युवाको सहभागिता, समृद्धिको आधार’ भन्ने नारासहित नेपालमा यस वर्ष पनि युवा दिवस सप्ताहव्यापी कार्यक्रममार्फत भव्य रूपमा मनाइँदैछ।

advertisement

राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतका अनुसार दिवसको मूल समारोह राष्ट्रिय सभागृह, भृकुटीमण्डपमा साउन २७ गते बिहान १० बजे आयोजना हुनेछ, जसलाई राष्ट्रपति पौडेलले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा २८५ संस्थागत सदस्य रहेको मूल समारोह समिति गठन गरिएको छ भने कार्यकारी उपाध्यक्ष बस्नेतको नेतृत्वमा १७ सदस्यीय सचिवालय पनि निर्माण गरिएको छ।

राष्ट्रिय युवा परिषदले जारी गरेको विज्ञप्तिअनुसार, युवा सम्बन्धी संवैधानिक व्यवस्था कार्यान्वयन गर्न, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीतिनिर्माणमा युवाको सहभागिता सुनिश्चित गर्न र युवाका मुद्दामा चेतना फैलाउन दिवसलाई उत्सवमय रूपमा मनाउने तयारी गरिएको हो।

परिषदका सदस्य सचिव गेहनाथ गौतमका अनुसार, नेपालमा रहेका संयुक्त राष्ट्रसंघीय निकायहरू तथा अन्य संघसंस्थाहरूको सहकार्यमा साताव्यापी विविध कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। समारोहमा युवाको क्षेत्रमा सक्रिय सबै सरोकारवाला निकाय तथा संघसंस्थाहरूलाई सहभागी भई दिवसलाई उत्सवमय ढंगले सफल बनाउन आह्वान गरिएको छ। साथै, परिषदले प्रदेश र स्थानीय तहहरूमा पनि दिवस मनाउन आग्रह गरेको छ।

युवा दिवसको ऐतिहासिक पृष्ठभूमिमा सन् १९९८ अगस्ट ८–१२ मा पोर्चुगलको राजधानी लिस्बनमा आयोजित १४० देशका युवा मामिलाका मन्त्रीहरूको सम्मेलनले ८८ बुँदे घोषणापत्र जारी गर्दै युवाको पक्षमा अन्तर्राष्ट्रिय दिवसको सिफारिस गरेको थियो। त्यसकै आधारमा सन् १९९९ डिसेम्बर १७ मा संयुक्त राष्ट्रसंघको ५४औं महासभाले हरेक वर्ष अगस्ट १२ लाई ‘अन्तर्राष्ट्रिय युवा दिवस’ का रूपमा मनाउने घोषणा गरेको हो। त्यसयता सन् २००० देखि हरेक वर्ष यो दिवस विश्वव्यापी रूपमा मनाउँदै आइएको छ।

प्रकाशित मिति: २२ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com