काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र गहिरिँदै गएको विवाद र गुटबन्दीबीच अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई संस्थागत रूपमा सुदृढ बनाउन आन्तरिक छलफल सुरू गरेका छन्।

आज राजधानीको एक होटलमा उनले आयोजना गरेको अनौपचारिक बैठकमा असन्तुष्ट समूहका नेताहरूलाई भने बोलाइएको छैन। पार्टीमा महामन्त्री डा. धवलशम्शेर राणा नेतृत्वको पक्षले संस्थापन विरुद्ध खुलेर असन्तुष्टि पोखिरहेका बेला लिङ्देनले आफ्ना पक्षधर नेताहरूसँग रणनीति तय गर्न यो बैठक आह्वान गरेका हुन्।

advertisement

संस्थापन पक्षका एक नेताका अनुसार, काठमाडौंमा रहेका केन्द्रीय सदस्यहरूलाई बैठकमा सहभागी हुन भनिएको छ, तर डा. राणाको समूहमा सक्रिय नेताहरूलाई भने जानकारी नै दिइएको छैन।
उनका अनुसार, “नेतृत्वविरुद्ध खुलेर आयोग धाउने र सञ्चारमाध्यममा बोल्ने १०–१५ जनालाई बाहेक अरू सबैलाई बोलाइएको छ।”

बैठक आज दिउँसो ३ बजेदेखि सुरु हुने कार्यक्रम तय भएको छ।

हालै अध्यक्ष लिङ्देनले इतर समूहका केही नेताहरूलाई लक्षित गर्दै कारबाही अघि बढाएपछि पार्टीभित्रको अन्तरविरोध झनै चर्किएको छ। यसको प्रतिक्रिया स्वरूप इतर समूह सामूहिक रूपमा अध्यक्षविरुद्ध आक्रामक रूपमा प्रस्तुत हुँदै आएको छ।

तीन दिनअघि डा. राणाको नेतृत्वमा हात्तिसारमा असन्तुष्ट पक्षको भेला भएको थियो, जसमा केही पदाधिकारीसहित झण्डै ७० जना सहभागी थिए।

प्रकाशित मिति: २२ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com