काठमाडौं । नेकपा (एमाले)का नेता महेश बस्नेतले सुप्रिम सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई लक्षित गर्दै गम्भीर प्रश्न उठाएका छन्।
रवि लामिछानेले पुर्पक्षका लागि थुनामा रहेकै अवस्थामा बिगो बराबरको दुई करोड ७४ लाख रुपैयाँको बैंक ग्यारेन्टी अदालतमा बुझाई थुनामुक्त हुने माग गर्दै निवेदन दिएपछि नेता बस्नेतले सामाजिक सञ्जालमार्फत कडा प्रतिक्रिया जनाएका हुन्।
‘रवि जीले आफू निर्दोष भएको दाबी गर्दै आउनुभएको छ,’ बस्नेतले लेखेका छन्, ‘तर, यदि साँच्चिकै निर्दोष हुनुहुन्थ्यो भने बिगो बराबरको रकम किन बुझाउने? अनि यदि दोष स्वीकार्नुभएको हो भने, पीडितहरूलाई लामो समयसम्म अन्यायमा राखेर सर्वोच्चसम्मको पुनरावेदन प्रक्रिया, हस्ताक्षर संकलन र आन्दोलन किन गर्नु पर्यो?’
उनले रवि लामिछानेमाथिको मुद्दालाई लिएर विगतमा भएको आन्दोलन, सहानुभूतिका अभियान र कानुनी प्रक्रियामाथिको चुनौतीप्रति पनि संकेत गरेका छन्।
बस्नेतको प्रश्नले सार्वजनिक रूपमा रवि लामिछानेको ‘निर्दोषताको दाबी’ र अदालतसमक्ष राखिएको बैंक ग्यारेन्टीबीचको विरोधाभासप्रति बहस चर्किएको देखिन्छ।

प्रकाशित मिति: २३ श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया