काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुनले नेपालका नेता नभई जनता नै भ्रष्ट भएको जिकिर गरेका छन्। बिहीबार प्राइम टेलिभिजनमा पत्रकार ऋषि धमलासंगको अन्तर्वार्ताका क्रममा बोल्दै उनले पैसा नदिए भोटै नदिने प्रवृत्ति रहेको स्वीकार गरे ।
पुनले भने, ‘युवा क्लबले पैसा माग्छ ठाडै । आमा समूहले पैसा माग्छ । अर्को समूहले पैसा माग्छ । हामीसँग यति भोट छ भनेर बार्गेनिङ गर्छ । त्यसकारण हामी नेता होइन्, जनता मतदाता पो भ्रष्ट भएछन् त । पैसा मागेपछि ऋण धन गरेर दिनैपर्यो ।’
चुनाव महंगो भएको स्वीकार गर्दै उनले त्यसरी चुनावमा बाँडेको पैसा उठाउन र चन्दा मागेको मान्छेको काम गरिदिनु नेताको बाध्यता हुने बताए ।
नेता पुनले यस पटक खर्च कहाँबाट ल्याउने भनेर नेता सबै आत्तिएको बताउँदै यस्तो बेलामा उद्योगी व्यवसायी पुँजीपतिसँग पैसा माग्ने र पछि उनीहरुको काम गरिदिने, कि पहिला सत्तामा हुँदा जम्मा गरेको पैसा खर्च गर्ने कि आफूले घरखेत बेचेर भए पनि पैसा निकाल्नु बाध्यता रहेको बताए । यो हटाउन प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा जानुपर्ने पुनको तर्क छ ।
प्रकाशित मिति: २८ श्रावण २०७९, शनिबार
प्रतिक्रिया