काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी पुस्ता विधि र कानुनबारे सजग रहेको विश्वास व्यक्त गरेका छन्।
फेसबुकसहितका दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयपछि जेनजी युवाहरूले सोमबार सडकमा उतर्ने घोषणा गरेकै दिन, ललितपुरको गोदावरीमा सम्पन्न एमाले विधान महाधिवेशनको समापन सत्रमा ओलीले यस्तो धारणा राखेका हुन्।
उनले भने, ‘जेनजीले आफ्ना कुरा राख्न पाउँछ, पाउनुपर्छ। देशको नीति, नियम र राष्ट्रिय हितबारे उनीहरू स्पष्ट छन् भन्ने म ठान्छु।’
प्रधानमन्त्री ओलीले आफू कुनै बन्द–हड्ताल वा अन्धाधुन्ध प्रतिबन्धको पक्षधर नभएको स्पष्ट पार्दै सामाजिक सञ्जाल बन्द गर्ने उद्देश्य सरकारको नभएको दोहोर्याए। उनका अनुसार, सरकारले सामाजिक सञ्जाललाई कानुनी दायरामा ल्याउन मात्र दर्ता अनिवार्य गरेको हो।
सरकारले एक साताको म्याद दिएर नेपालमा दर्ता नभएका २६ सामाजिक सञ्जालमाथि सेवा प्रदायकहरूलाई पहुँच रोक्न निर्देशन दिएको थियो। यसैको विरोधमा जेनजी पुस्ताले आन्दोलनको तयारी गरेको छ।
ओलीले भने, ‘दर्ता नगरी सञ्चालन भइरहेका प्लेटफर्मलाई नियमनमा ल्याउन सरकारले आग्रह मात्र गरेको हो। यसलाई अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने प्रयास भनेर बुझ्नु गलत हुन्छ।’
प्रकाशित मिति: २२ भाद्र २०८२, आइतबार













प्रतिक्रिया