काठमाडौं। माओवादी पार्टीबाट बाहिरिएको ७ वर्षपछि अन्ततः डा. बाबुराम भट्टराई माओवादीकै चुनाव चिन्हबाट आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भाग लिने निश्चित भएको छ।

नेपाल समाजवादी पार्टीका नेताहरु माओवादी केन्द्रको चुनाव चिह्नमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन लड्न तयार भएका हुन्।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगको चरणबद्ध वार्तापछि एउटै चुनाव चिन्ह र घोषणापत्रबाट प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भाग लिने सहमति भएको छ । यसको औपचारिक घोषणा हुन बाँकी छ ।

दुई दलका शीर्ष नेताहरुबीच गठबन्धन बनाउन लगातार छलफल भइरहेको छ । आइतबार बिहान पनि माओवादी अध्यक्ष प्रचण्ड र समाजवादी पार्टीका अध्यक्षद्वय  डा. बाबुराम भट्टराई र महेन्द्र राय यादवबीच भेटवार्ता भएको हो ।

नेसपाका अध्यक्ष यादवका अनुसार समाजवादी गठबन्धन बनाउने र एउटै चुनाव चिह्न लिएर संयुक्त रुपमा जान दुबै दल सहमत भएका छन् । यसबारे आ–आफ्नो दलका छलफल गरेर निर्णयमा पुग्ने सहमति भएको भन्दै यादवले भने, ‘उहाँहरुको चुनाव चिह्न पुरानो छ, हाम्रो नयाँ छ, त्यसैले उहाँहरु माओवादीकै चुनाव चिह्नमा जाने सम्भावना छ ।’

माओवादी नेताहरुका अनुसार नेसपाका नेताहरुले प्रतिनिधिसभामा केही सिट निश्चित गर्नुपर्ने बताएका छन् । नेसपाका अध्यक्ष यादव भन्छन्, जोजो जितेको छ, त्यो त पाउने नै भयो । यसबारे हाम्रो उपस्थिति हेरेर प्रतिनिधिसभा र प्रदेशमा कति गर्न सकिन्छ हेर्ने हुन्छ होला ।’

नेसपाका अध्यक्ष भट्टराई गोरखा क्षेत्र नम्बर २ र यादव सर्लाही ४ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्।

प्रकाशित मिति: २९ श्रावण २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com