काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले हाल सामाजिक सञ्जालमा चर्चामा रहेको ‘जेन–जी नेपो बेबी’ अभियानलाई अराजकतावादी प्रवृत्तिले प्रयोग गरिरहेको आरोप लगाएका छन्।
उनका अनुसार स्थापित राजनीतिक दल र नेताहरूविरुद्ध सामाजिक सञ्जालमार्फत चलाइएको बदनाम अभियान असफल भएपछि त्यसलाई ढाकछोप गर्न नयाँ अफवाह फैलाइएको हो।
सरकारले फेसबुकसहितका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएपछि ‘जेन–जी’ पुस्ताले सोमबार देशव्यापी प्रदर्शनको घोषणा गरेको छ। यसबीच टिकटकलगायतका प्लेटफर्ममा नेताहरूका सन्तानको जीवनशैलीलाई ‘नेपो बेबी’ भन्दै आलोचना भइरहेका बेला बस्नेतले आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
आफ्नो छोरीको विवाहलाई टिकटकमा तोडमोड गरेर गलत रूपमा प्रस्तुत गरिएको भन्दै बस्नेतले आपत्ति जनाएका छन्। उनले फेसबुकमा लेख्दै भने, “मेरो छोरी, ज्वाइँ वा परिवारका कुनै सदस्यले नातावाद वा राज्यका सुविधा अनुचित रूपमा प्रयोग गरेका छैनन्। छ भने प्रमाणसहित दिन चुनौती दिन्छु।”
बस्नेतले आफ्नो र परिवारको सम्पत्ति तथा जीवनशैली पूर्ण पारदर्शी रहेको दाबी गर्दै जुनसुकै ठाउँमा त्यसको पुष्टि गर्न सकिने बताए। उनले थपे, “मेरो चिकित्सक छोरी र राष्ट्रसेवक ज्वाइँमाथि प्रहार गर्ने, मानसिक यातना दिने र भ्रम फैलाउने गतिविधि आपराधिक प्रकृतिका हुन्।”
नेता बस्नेतले टिकटकलगायतका सामाजिक सञ्जाललाई अपराध र द्वेष फैलाउने माध्यम बन्न नदिने गरी सरकारलाई आवश्यक कदम चाल्न आग्रह गरेका छन्।
प्रकाशित मिति: २२ भाद्र २०८२, आइतबार












प्रतिक्रिया