काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालका लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेलले सोमबार साँझ पार्टी सदस्यता परित्याग गर्ने घोषणा गरेका छन्।
खरेलले सामाजिक सञ्जालमार्फत लेख्दै अबदेखि उनी नेकपा एमालेसँगको सम्पूर्ण सम्बन्ध विच्छेद गरिएको स्पष्ट पारेका छन्। उनले भनेका छन्, ‘आजको दिनदेखि म नेकपा एमालेसँगको मेरो सम्पूर्ण सम्बन्ध अन्त्य भएको घोषणा गर्दछु।’
उनले जेनजी पुस्ताको आन्दोलनमाथि सरकारले गरेको दमन र निर्दोष युवाहरूको मृत्युबारे सरकारको भूमिका अस्वीकार्य भएको भन्दै, नागरिकको पीडामाथि राजनीति गर्ने पार्टीमा रहनु नैतिक र मानवीय दृष्टिले अस्वीकृत भएको बताएका छन्।
खरेलले थपे, ‘निर्दोष बहिनी–भाइको रगत बगाउने, जनताको आवाज दमन गर्ने र नागरिकको पीडामाथि राजनीति गर्ने यस्ता पार्टीमा रहनु मेरो लागि अस्वीकार्य छ। अब म पीडितको पक्षमा, न्यायको पक्षमा र नयाँ पुस्ताको आवाजसँगै रहिरहनेछु।’
साथै, उनी युवा संघ नेपालमा केही समयअघि पार्टी र नेतृत्वको मर्यादामाथि प्रश्न उठाउने गतिविधि गरेको भन्दै संघको जिम्मेवारीबाट निलम्बित पनि थिए। युवा संघको पोखरामा सम्पन्न महाधिवेशनमा अध्यक्ष सुमन पुरीको पक्षमा लागेका खरेल पछिल्लो समय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा खुलेका थिए।
प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार













प्रतिक्रिया