काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सोमबार साँझ बालुवाटार पुगेका छन् ।
सामाजिक सञ्जाल बन्द गर्ने निर्णय फिर्ता लिन आग्रह गर्दै देउवाले यसअघि प्रधानमन्त्री ओलीलाई टेलिफोन सम्पर्क गरेका थिए । तर, ओलीले आग्रह नस्वीकारेपछि उनी प्रत्यक्ष छलफलका लागि प्रधानमन्त्रीको सरकारी निवास पुगेको देउवा सचिवालयले जनाएको छ ।
देउवा कांग्रेस पदाधिकारी बैठकमै रहेका बेला प्रधानमन्त्रीलाई फोन गरेर उक्त निर्णय खारेज गर्न अनुरोध गरेका थिए । यस्तै, मन्त्रिपरिषद् बैठकमा कांग्रेसका तर्फबाट सहभागी स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र राजीनामा दिएका गृहमन्त्री रमेश लेखकले पनि सामाजिक सञ्जाल बन्द गर्ने निर्णय फिर्ता लिन सुझाव दिएका थिए । तर, प्रधानमन्त्री ओलीले कानुन नबनेसम्म निर्णय फिर्ता लिन नसकिने जवाफ दिएको स्रोतले जनाएको छ ।
प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार













प्रतिक्रिया