काठमाडौं । सरकारले सामाजिक नियन्त्रणका प्रयास गर्दा विरोध उग्र बनेपछि देशभर व्यापक आगजनी र तोडफोडको घटनाहरू भएको छ। संवेदनशील क्षेत्रका प्रमुख राजनीतिक नेताहरूका निजी निवास र पार्टी कार्यालयहरू सुरक्षाकर्मीको नियन्त्रणबाट बाहिर गएको देखिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निवास र प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित घरमा प्रदर्शनकारीहरूले आगो लगाएका छन्। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बुढानीलकण्ठ निवासमा पनि आगजनी भएको छ भने पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको खुमलटार निवासमा तोडफोड भएको छ।
मन्त्रीहरूको निवासमा पनि व्यापक क्षति पुगेको छ। भैंसेपाटीस्थित मन्त्री निवासमा आगजनी भएको छ भने परराष्ट्रमन्त्री आरजु देउवाको धनगढी निवासमा तोडफोड र आगजनी भएको छ। सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङको सुनाकोठी घरमा आगो लागेको छ भने ऊर्जामन्त्री दीपक खड्काको बुढानीलकण्ठ निवासमा आगजनी भएको छ।
कांग्रेस महामन्त्री गगन थापाको रातोपुल निवास र एमाले सचिव रघुविर महासेठको घरमा पनि आगजनी भएको छ भने एमाले नेता सुरेन्द्र पाण्डेको निवासमा तोडफोड भएको छ।
हाल सुरक्षाकर्मीहरूले प्रभावित नेताहरूलाई सुरक्षित स्थानमा सार्ने काम जारी राखेका छन्।
प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलबार













प्रतिक्रिया