फाइल तस्बिर
काठमाडौं । डिल्लीबजार कारागारमा रहेका गण्डकी प्रदेशसभा पूर्वसदस्य दीपक मनाङे जेलबाट बाहिरिन अस्वीकार गरेका छन्। अन्य कैदी आगलागी र हुलदंगा भएपछि बाहिर निस्के पनि मनाङे कारागारभित्रै बसेका छन्। उनी अन्य कैदीलाई भनेका थिए, ‘बाहिर जान्नँ।’
अर्का कैदीले भने आगलागीपछि सुरक्षित स्थानमा जान खोजेको प्रतिक्रिया दिएका छन्। एक कैदीले नेपाली सेनाको नियन्त्रणमा पर्नुअघि भने, ‘हामी भाग्ने भनेर आएको हैन। आगो लगायो। बस्ने स्थिति छैन। बस्यो भने मर्ने अवस्था भयो। त्यही भएर बाहिर निस्किएको।’
दीपक मनाङे गत असार ४ गतेदेखि गण्डकी प्रदेशसभा सदस्यको पदबाट पदमुक्त भएका व्यक्ति हुन्। उनी ०७९ को प्रदेशसभा निर्वाचनमा मनाङबाट निर्वाचित भएका थिए।
सर्वोच्च अदालतको संवैधानिक इजलासले मनाङेलाई ज्यान मार्ने उद्योगसम्बन्धी फौजदारी कसुरमा दोषी ठहर गरेको र फैसला अन्तिम भइसकेको कारण उनी पदमुक्त हुने निर्णय गरेको हो। संवैधानिक इजलासमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र कुमार चुडाल रहेका थिए।
मनाङे २०७९ को प्रदेशसभा चुनावताका अयोग्य थिए तर चुनावमा लड्न रोक थिएन। सर्वोच्चमा पुनरवलोकनको क्रममा फैसला अन्तिम नभए पनि, पछिल्लो अन्तिम निर्णयपछि उनी अब पदमा रहन नपाउने निष्कर्ष आएको संवैधानिक इजलासले जनाएको छ।
अधिवक्ता वीरेन्द्रराज कार्कीले २०७९ पुस १३ गते मनाङेको योग्यतामा प्रश्न उठाउँदै उनी प्रदेशसभा सदस्यको उम्मेदवार बन्न नपाउने दाबी गर्दै रिट दायर गरेका थिए।
हाल मनाङे ज्यान मार्ने उद्योगको मुद्दामा दोषी ठहर भएर डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका छन्।
प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार













प्रतिक्रिया