काठमाडौं। जेनजी आन्दोलनपछिको वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्रले शुक्रबार आयोजना हुने आफ्नो कविता संग्रह विमोचन कार्यक्रम स्थगित गर्ने निर्णय गरेका छन्।
सामाजिक सञ्जालमार्फत जारी गरेको वक्तव्यमा मिश्रले यस घडीमा चरम पीडा र क्षतिको माहोल भएकोले कार्यक्रम गर्न उपयुक्त नठानेको स्पष्ट पारेका छन्।
उनी तीन वर्षदेखि ‘नवीन समझदारी’को पक्षमा रहेर शान्तिपूर्ण संक्रमणमार्फत देश अघि बढ्नुपर्ने कुरा बारम्बार उठाउँदै आएको स्मरण गराए। मिश्रले भने, ‘एकपटक होइन, दुईपटक होइन, दर्जनौँ पटक मैले शान्तिपूर्ण मार्गबाट ‘नवीन समझदारी’मा जानुपर्ने कुरा भनेँ। तर मलाई खिस्याइयो, व्यङ्ग्य गरियो र दानवीकरण गरियो।’
मिश्रले कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटेर देशको वास्तविक अवस्था बुझाउन आग्रह गरे पनि आफ्नो भनाइलाई गम्भीरतापूर्वक लिइएको अनुभव नभएको बताए।
उनले वक्तव्यमा थपे, ‘आगो निभ्छ, खरानी माटोमा मिल्छ, तर कालो इतिहास कहिल्यै मर्दैन।’ वर्तमान परिस्थितिबाट कसैलाई पनि खुशी नहुने स्पष्ट छ। त्यसैले विचारभन्दा माथि देशलाई राखेर नयाँ समझदारीमा अघि बढ्न सबैलाई आह्वान गर्दछु।’
मिश्रले अन्त्यमा सबैलाई बहकावामा नपरी, जेन्जी पुस्ताको भविष्यलाई केन्द्रमा राखेर मात्र मुलुकलाई सुरक्षित बनाउन सकिने बताए।
प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार













प्रतिक्रिया