काठमाडौं। नेपाल प्रहरीले हालैका घटनामा आफ्ना संरचना तथा जनशक्ति क्षेत्रमा भएको क्षतिको विवरण संकलन सुरु गरेको छ।
प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी विनोद घिमिरेका अनुसार काठमाडौं उपत्यकाका अधिकांश प्रहरी वृत्त प्रदर्शनकारीको आक्रमणको निशानामा परेका थिए। महाराजगन्ज वृत्तमा त प्रहरी भित्रै रहेका अवस्थामा आगजनी गरिएको प्रारम्भिक विवरणमा उल्लेख छ। सो घटनामा दुई जनाको ज्यान गएको र २१ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ।
त्यसैगरी कोटेश्वरमा भेटिएका तीन शव पनि प्रहरीकै भएको खुलेको छ। ती शव सिभिल अस्पतालमा राखिएको भए पनि आधिकारिक सनाखत प्रक्रिया अझै बाँकी रहेको डिआइजी घिमिरेले जानकारी दिए।
बुधबारदेखि उपत्यकाका सबै प्रहरी वृत्तमा प्रमुखहरूले पुनः कमाण्ड सम्हालेका छन्। तर, केही प्रहरी कर्मचारीहरूसँग अझै सम्पर्क स्थापित हुन नसकेको र उनीहरूलाई सुरक्षित रूपमा सम्पर्कमा ल्याउन पहल भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार













प्रतिक्रिया