काठमाडौँ । नेपाली कांग्रेसले हालैको जेनजी विरोध प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनाको कडा निन्दा गरेको छ। पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जारी गरेको प्रेस विज्ञप्तिमा शेरबहादुर देउवा लगायत नेताहरूमाथि भएको आक्रमण दुःखद् र अस्वीकार्य भएको उल्लेख गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
प्रवक्ताका अनुसार, धेरै युवा र केही सुरक्षाकर्मीको ज्यान गएको घटना पार्टीका लागि गम्भीर पीडादायी छ। घाइतेहरू छिट्टै स्वास्थ्यलाभको कामना गर्दै उनले प्रदर्शनका क्रममा भएको धनजनको ठूलो क्षतिप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्।
कांग्रेसले लोकतन्त्र र संविधानको रक्षा तथा शान्ति–सुरक्षाको सुनिश्चितताका लागि राष्ट्रपतिको अगुवाइमा हुने संवादमा सक्रिय भूमिका खेल्नुपर्ने आवश्यकतामा जोड दिएको छ। मङ्गलबार देशभर हिंसात्मक गतिविधि, तोडफोड र आगजनीले शान्तिपूर्ण विरोधको मर्म र मान्यतालाई उल्लंघन गरेको कांग्रेसको भनाइ छ।
डा. महतले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाजस्ता लोकतन्त्रका आधारभूत संस्थामा समेत भएको आगजनी गम्भीर र निन्दनीय भएको उल्लेख गर्दै, घर, निजी सम्पत्ति, उद्योग र सञ्चारमाध्यममा भएको तोडफोड र लुटपाटप्रति दुःख व्यक्त गरेका छन्। यसले लगानी वातावरणमा नकारात्मक प्रभाव पारेको र क्षतिपूर्ति गर्न वर्षौं र ठूलो स्रोत खर्च हुने पनि उनले बताए।
प्रवक्ताले देश अहिले राजनीतिक शून्यता र कानुनी अनिश्चिततामा रहेको हुँदा राष्ट्रपतिको समन्वयमा सुरक्षा निकायहरूले सक्रिय भएर शान्ति–सुरक्षा कायम गर्नुपर्ने बताए। उनले कानुनी शासनको विकल्प नभएको र लोकतन्त्रको रक्षा सबैका लागि अपरिहार्य भएको बताउँदै, पार्टीका सदस्यहरूले एकजुट भई लोकतान्त्रिक प्रक्रियाको पुनःस्थापना र संरक्षणमा सक्रिय हुनुपर्नेमा जोड दिएका छन्।
प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार













प्रतिक्रिया