काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्रीको राजीनामापछि उत्पन्न परिस्थितिको समाधान संविधान र लोकतान्त्रिक प्रक्रियामार्फत खोजिनुपर्नेमा जोड दिएका छन्।
उनीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै सार्थक तथा परिणाममुखी संवादमार्फत सुशासन, सहज सेवा प्रवाह र तीव्र विकासप्रतिको युवा पुस्ताको आकांक्षा संविधानसम्मत रूपमा सम्बोधन गर्न राष्ट्रपतिलाई विशेष पहल गर्न आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको उक्त विज्ञप्तिमा भनिएको छ, ‘राजनीतिक निकासको मार्ग संविधान र लोकतान्त्रिक विधिबाट नै सुनिश्चित गर्नुपर्छ। सार्थक संवाद सुरु गरी परिणाममुखी सहमतिको माध्यमबाट मात्र वर्तमान अन्यौलताबाट मुलुकलाई अघि बढाउन सकिन्छ।’
यस्तै, पोखरेल र ज्ञवालीले लोकतान्त्रिक गणतन्त्र र बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीलाई कुनै पनि हालतमा कमजोर पार्न नहुने उल्लेख गर्दै ती मूल्य–मान्यताको संरक्षण सबैको साझा जिम्मेवारी रहेको बताएका छन्।
प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार













प्रतिक्रिया