काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले वर्तमान राजनीतिक परिस्थितिमा बिदेशी चलखेलमा नेतृत्व चयनको प्रवृत्तिप्रति असहमति जनाएका छन्। सामाजिक सञ्जालमार्फत विचार व्यक्त गर्दै उनले राष्ट्रहित र स्वाभिमानलाई प्राथमिकता दिने नेतृत्व रोज्नुपर्नेमा जोड दिएका छन्।
साम्पाङले लेखेका छन्, “विदेशी शक्तिलाई ढोगेर मात्रै प्रधानमन्त्री बन्ने चलन छ भन्ने कुरा सुन्दै आएको छु। तर म त यही देशका दाजुभाइ–दिदीबहिनी र युवाको साथमा प्रधानमन्त्री बन्न सकिन्छ भन्नेमा विश्वास गर्छु। एक थान पदका लागि आफ्नो स्वाभिमान दाउमा राख्दिनँ। जय मातृभूमि!”
उनले थपे, “विगतका जस्तै परिस्थितिमा तपाईंको बलिदान सम्झौता नहोस्। ‘म गर्छु’ भन्ने इच्छाशक्ति भएको नेता छान्नुस्, जबरजस्ती वा सिफारिस गरेर होइन। देशभक्तिपूर्ण इच्छाशक्तिले मात्र नेपाललाई सुधार गर्न सकिन्छ।”
साम्पाङले अझै प्रष्ट पारे, “बोकेको कुकुरले सिकार गर्दैन। विदेशीको इशारामा बनेको सरकारले राष्ट्रवादी कानुन बनाउन सक्दैन।”
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्वका लागि प्रस्तावित गरिएको बेला साम्पाङको यो टिप्पणी आएको हो।
प्रकाशित मिति: २६ भाद्र २०८२, बिहिबार













प्रतिक्रिया